लगातारको वर्षा, बाढी–पहिरो र मर्मतका कारण देशका विभिन्न राजमार्ग प्रभावित

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन्। नेपाल प्रहरीले जारी गरेको पछिल्लो सूचनाअनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात सञ्चालनमा अवरोध भएको हो।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका– ५ जोखिम क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग असार १२ गते आएको बाढीका कारण प्रभावित भएको छ। हाल उक्त सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ भने वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै असार २२ गतेदेखि बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका २ र ४ को महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले यातायात पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक असार २५ गतेसम्म बन्द रहने जनाइएको छ।

लुम्बिनी प्रदेशको रोल्पामा रुकुम–घोराही सहिद मार्गअन्तर्गत माडी गाउँपालिका– ६, हार्निङमा असार २२ गते गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका– ६ स्थित रिजेगार्ड खोलामा असार १७ गते आएको बाढीले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ। त्यसैगरी, जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत नलगाड नगरपालिका– ८, मालुवामा आज (असार २३ गते) गएको पहिरोका कारण पनि यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले पूर्ण रूपमा अवरुद्ध सडकखण्डमा यात्रा नगर्न, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्राअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्रै यात्रा तय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सुझावित समाचार