चालू आर्थिक वर्षमा कञ्चनपुर भन्सार कार्यालयले लिलाम गरेका सवारीसाधनको विषयमा केही व्यवसायीहरूले टीका–टिप्पणी गर्न थालेका छन्। आर्थिक वर्ष ०८२/८३ को अन्तिममा आएर कञ्चनपुर भन्सार कार्यालयले लिलाम गरेका सवारीसाधनको विषयमा केही व्यवसायीले टीका–टिप्पणी गर्न थालेका हुन् ।
भन्सार कार्यालयले नै तयार पारेको मापदण्डअनुरूप लिलाम सकारेका व्यवसायीले लिलामी गाडी टुक्रा पारेर किन नलगेको भन्दै प्रश्न गर्न थालेका छन्। भन्सार कार्यालयले भन्सार चोरी–छली गरेर बरामद गरिएका मोटरसाइकल ट्रकसहितका सडकमा गुड्न नसक्ने सवारीसाधन लिलाम गरेको थियो। लिलामको न्यूनतम कबुल रकमभन्दा ५–६ गुणा बढी रकममा लिलाम गरे पनि व्यवसायीहरूले लिलामी सामान टुक्रा किन नपारेको विषय उठान गरिरहेका छन्।
लिलाम सर्तको बुँदा ९ मा इन्जिन नम्बर रद्द गरी टुक्रा गरी कबाडको रूपमा सवारीसाधन उठाई लैजानुपर्ने भए पनि लिलाम सकारेका मधुसुधन ट्रेडर्स एन्ड सप्लायर्सले जस्ताको तस्तै सवारीसाधन लग्न लागेपछि थरीथरीका टीका–टिप्पणी भइरहेका छन् ।
एक व्यवसायीका अनुसार भन्सारले तयार गरेकै सर्तविपरीत लिलाम सकार भएका सवारीसाधन जस्ताको तस्तै लग्ने कार्यप्रति अनेकन शंका उब्जाएको बताउँदै उनले भावी दिनमा पुनः बेचबिखन गरेर सडकमा गुडाउने र त्यसबाट झन् सवारी दुर्घटना हुने बताए । ‘भन्सार आफैँ मापदण्ड बनाउने आफैँ पालना नगर्ने कस्तो हो,’ उनले भने, ‘कम्तीमा मापदण्ड सर्त त पूरा गर्नुपर्यो ।’ लिलाम सकारप्रति असन्तुष्ट रहेका व्यवसायीले पुनः भन्सार लिलामको माग अघि सार्दै टुक्रा पारेर मात्रै लैजानुपर्ने अन्यथा चलखेल हुने आरोप लगाएका छन् ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लिलाम सामान पूर्णतया कानुनअनुरूप भएको जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले भन्सार नियमावली, २०८३ अनुरूप सबै प्रक्रिया पूरा गरेर लिलाम गरेको बताए । उनका अनुसार लिलाम सकार प्राप्त फर्म मधुसुधन ट्रेडर्स एन्ड सप्लायर्सलाई सबै सवारीसाधनका चेसिज नम्बर नष्ट र भावी दिनमा कुनै पनि यातायात कार्यालयमा दर्ता नहुने सर्तमा लिलाम गरिएको छ ।
१८४ थान मोटरसाइकलको न्यूनतम चार लाख, ६० हजारमा बढिबढाउमा करसहित २० लाख ७७ हजार रुपैयाँमा लिलाम स्वीकृत भएको छ । दुई ट्रक, एक कन्टेरको दुई लाख ७५ हजार न्यूनतम कबुल रकममा करसहित १४ लाख ७९ हजारमा लिलाम स्वीकृत भएको छ ।