पर्साको जगरनाथपुर गाउँपालिका– १, पिडारीगुठीका करिब २५ वर्षीय युवा वृजेश राम विगत आठ दिनदेखि बेपत्ता रहेको भन्दै उनका परिवारजनले चिन्ता व्यक्त गरेका छन्।
परिवारका अनुसार गत सोमबार बिहान करिब ८ बजे वृजेश आफ्नी आमा मन्जु रामसँग धोबिनी गाउँपालिकाको जगरनाथपुरस्थित दिदीको घरमा मोटरसाइकलमा गएका थिए। सोही क्रममा उनी बिचबाटोबाट बेपत्ता भएका हुन्।
दलित समुदायका सामान्य आर्थिक अवस्था भएका वृजेश घरबाट केही पर पुगेपछि बिहानकै समयमा बेपत्ता भएपछि गाउँभरि नै चिन्ताको वातावरण छाएको स्थानीय बताउँछन्।
आफन्तको घर जाने क्रममा बिचबाटोबाट बेपत्ता भएका वृजेश अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछि घरमा रुवाबासी चलिरहेको उनका मामा वीरबल रामले बताए।
वृजेश बेपत्ता भएको आठ दिन बितिसक्दा पनि प्रहरीले ठोस जानकारी दिन नसकेको र अनुसन्धान भइरहेको भन्ने जवाफ मात्र दिँदै आएको परिवारका सदस्यहरूको गुनासो छ।
उनका नाना रामअशिष रामका अनुसार, पूर्वनिर्धारित योजनाअनुसार वृजेश दिदीको घर जाँदै गर्दा मौसम खराब भई वर्षा सुरु भएपछि आमा–छोरा बाटोमै रोकिएका थिए। त्यही वेला वृजेशको मोबाइलमा अचानक फोन आएपछि उनले आमालाई त्यहीँ छाडेर भेट्न गएको र त्यसयता सम्पर्कविहीन भएको उनले बताए।
रामका अनुसार मोबाइलमा फोन गरेर बगैँचामा भेट्न बोलाएका आठ–नाैजनाको समूहले वृजेशलाई एकान्तमा लगेर कुटपिट गरेको र सो क्रममा उनले आफ्ना भिनाजु प्रमोद रामलाई फोन गरेर आफूलाई बचाउन आग्रह गरेका थिए।
भिनाजु प्रमोद राम घटनास्थल पुग्दा वृजेश त्यहाँबाट बेपत्ता भइसकेका थिए। त्यसपछि परिवारले खोजी गर्दै प्रहरीमा निवेदन दिएको रामले बताए।
परिवारका अनुसार वृजेशले जिराभवानी गाउँपालिकाका केही व्यक्तिबाट कर्जा लिएका थिए। उक्त रकम चुक्ता गर्ने विषयमा पटक–पटक छलफलसमेत हुँदै आएको नाना रामअशिषले बताए।
उनका अनुसार दुई सन्तानका अभिभावक रहेका वृजेशले केही वर्षअघि व्यक्तिगत कामका लागि दुई–तीनजनासँग अढाई लाख, दुई लाखलगायत गरी करिब सात–आठ लाख रुपैयाँ कर्जा लिएका थिए।
वृजेश बेपत्ता भएको यति लामो समय बितिसक्दा पनि पर्सा प्रहरीले अनुसन्धान कहाँसम्म पुगेको भन्नेबारे परिवार अझै अनभिज्ञ रहेको जनाएको छ। पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले वृजेश राम बेपत्ता भएको घटनामा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी दिए।
उनले जानकारी प्राप्त भएलगत्तैदेखि प्रहरीले परिवारका सदस्यहरूसँग नियमित सम्पर्कमा रही घटनाको अनुसन्धानलाई तीव्र बनाएको बताए।