मनरा सिसवामा सर्प उद्धार गर्न नगर प्रहरीलाई दुईदिने तालिम

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

महोत्तरीको मनरा सिसवा नगरपालिकाले सर्प उद्धार गर्ने भएको छ। नगर प्रहरीलाई प्रशिक्षण गराएर नगरपालिकाले सर्प उद्धारको काम गर्न लागेको हो।

घर र मानवको पहुँच रहेको स्थानहरूमा सर्प देखापर्दा सर्प र मानव दुवै जोखिममा पर्ने गरेकामा सर्पको उद्धार गरी सर्प र मानव दुवैको ज्यान सुरक्षित राख्न यो सेवा सुरु गरेको नगरप्रमुख मोहन पाण्डेयले बताए। मिथिला वाइल्ड लाइफ ट्रस्टले दुईदिने आधारभूत तालिम दिएपछि पालिकाको नगर प्रहरी सर्प उद्धारका लागि तयार भएको उनले जानकारी दिए।

नगरप्रमुख पाण्डेयले यस क्षेत्रमा सर्प उद्धारकर्ता नहुँदा पछिल्लो समय मानवसँगै सर्पको ज्यानसमेत जोखिममा पर्ने गरेको बताउँदै विपदको वेला मद्दत गर्न पालिका तयारीमा रहेको प्रस्ट पारे।

यता मिथिला वाइल्ड लाइफ ट्रस्टका संस्थापक देवनारायण मण्डलले सर्प उद्धारकर्ताको संख्या महोत्तरीमा न्यून रहेको अवस्थामा अब नगर प्रहरी नै सक्षम भएपछि यस क्षेत्रमा सर्पले टोकेर हुने मृत्युलगायतका घटना र मानवद्वारा सर्प मारिएको घटनामा समेत कमी आउने आशा व्यक्त गरे।

उनले महोत्तरीका अन्य केही पालिकाहरूलाई समेत तालिम दिने प्रयास भैरहेको बताउँदै तालिममा सर्प पहिचान, सुरक्षित रही गरिने उद्धार, व्यवस्थापन र प्राथमिक उपचारबारे सिकाइएको जानकारी दिए।

मिथिला वाइल्ड लाइफ ट्रस्टको तर्फबाट सर्प उद्धारविज्ञ सुवोध आचार्यसहितको टोलीले नगर प्रहरीलाई प्रशिक्षण दिएका हुन्।

सम्पादकको रोजाइ

सुझावित समाचार