रिजालको कथासंग्रह ‘नैबेद’ सार्वजनिक

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासंग्रह सार्वजनिक गरिएको छ। लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका म्यानेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले भरतपुरमा संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन्।

विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासंग्रह भएको बताए। उनका अनुसार यस संग्रहका कथाले मनोरञ्जनभन्दा बढी पाठकलाई विचार, प्रश्न र आत्ममन्थनतर्फ डोर्याउँछन्।

उनले विज्ञान, शिक्षा, अन्धविश्वास, वैदेशिक रोजगारी, प्रेम, राजनीति, अपराध, महामारी र मनोविज्ञानजस्ता विविध विषयलाई कथामार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै समकालीन नेपाली समाजको मानसिक, सामाजिक र सांस्कृतिक संक्रमणलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको बताए।

कार्यक्रममा लेखक रिजालसँग अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संवाद गरेका थिए। संवादमा ‘नैबेद’को लेखन प्रक्रिया, कथाको संरचना तथा लेखकका साहित्यिक रुचिका विविध पक्षबारे छलफल भएको थियो। कार्यक्रमको सहजीकरण साथै स्वागत अक्षर समूहका पूर्वअध्यक्ष रमेश प्रभातले गरेका थिए।

शिखा बुक्सबाट प्रकाशित ‘नैबेद’ मा १४ वटा कथा समेटिएका छन्। यसअघि रिजालको ‘एकान्तवास’ कृति प्रकाशित छ।

See More On

सुझावित समाचार