डोल्पाको जगदुल्ला गाउँपालिका– ४, मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १ः५० बजेतिर जगदुल्ला– ४, माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेको हो।
दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका– ८ डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १४ जना सवार रहेको बताइएको छ। चालकसहित अन्य १३ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। प्रहरीका अनुसार उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।