नेपाली चलचित्रका नायक नवल खड्काको पुस्तक ‘नवल खड्का’ बजारमा

शनिबार, २० असार, २०८३
डिजिटल संस्करण

नायक तथा निर्देशक नवल खड्काकाे पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । नेपाली कथानक चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ पाइन प्रकाशन प्रालिले बजारमा ल्याएको हो । 

नेपाली चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काले आफ्नो जीवनमा आफूले भोगेको सुख/दुःखका संगालाेलाई पुस्तकमा समेटेका छन्। २०७ पृष्ठ लामो  पुस्तक लेखक खड्का, राष्ट्रिय जेन्जी नागरिक अभियानका संयोजक सुनिल सिंह, सह–संयोजक अजय सोडारी, सचिव प्रकाश बम र कान्तिपुर सम्वाददाता मनोज बडूले असार–१९ गते दार्चुलाको तिंकरमा पुगेर संयुक्त रूपमा विमोचन गरेका हुन् ।  

नायक, निर्देशक तथा लेखक खड्काले लेखेको पुस्तक ‘नवल खड्का’ प्रशंसाको कथा मात्र नभइ यो देश सोच्ने एउटा नागरिकले प्रत्यक्ष भोग्नुपरेको बेचैनीको कथा भएको प्रकाशकले पुस्तकमा उल्लेख गरेको छ । ‘देशलाई नारामा होइन, नसामा महसुस गराउने कथा हो । सिनेमालाई मिसनको रुपमा बुझाउने कथा हो’, पुस्तकको बाहिरी पृष्ठमा लेखिएको छ, ‘देशभक्तिको भनाइ र गराइबीचको फरकको कथा हो । यो एक योद्धाको कथा हो । यो तपाईंको नवलको कथा हो।’

चलचित्र क्षेत्रमा लागेर देशभक्त नायकको पहिचान बनाउनुभएका नायक तथा निर्देशक खड्काले आफ्नो ‘नवल खड्का’ पुस्तक तथा ‘भीमदत्त’ र ‘काँडेतार’ चलचित्रबाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत हिस्सा नेपालको सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमान खर्च गर्ने घोषणा गरेका छन् । नायक खड्काले सीमामा सिसिक्यामेरा जडान, नेपाली सेनालाई सीमा सुरक्षाको पूर्ण जिम्मेवारी, १६ वर्ष उमेर पुगेका प्रत्येक नेपाली नागरिकलाई आधारभूत सैनिक तालिम प्रदान गर्ने व्यवस्था तथा ‘शान्ति क्षेत्र नेपाल’ घोषणालाई पुनः जीवित गर्नुपर्ने बताएका छन् ।  

नायक तथा निर्देशक खड्काले जंगे सीमा स्तम्भलाई आधार मानेर सम्पूर्ण नेपाली सीमामा काँडेतार लगाउने कार्य तत्काल सुरु गर्न नेपाल सरकारसँग माग गरेका छन् । ‘हामी शून्य नम्बर पिलर खोज्न गयौँ, तर भेटिएन । त्यसैले सरकारसँग मेरो खुला चुनौती छ । शून्य नम्बर पिलर कहाँ छ ? देखाइयोस्’, उनले भने, ‘महाकाली, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पुगेर स्थानीयसँग एक रात बसेर वास्तविक अवस्था बुझ्न म सरकारलाई चुनौती दिन्छु ।’

तिंकर भञ्ज्याङको १ नम्बर सीमा स्तम्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नायक खड्काले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सशक्त भएर जुट्न देशवासीलाई आग्रहसमेत गरेका छन् । नायक खड्काले तिंकर भञ्ज्याङमा भ्यू–टावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण तयार गर्न नेपाल सरकारसँग माग गरेका छन् ।  

सुझावित समाचार