ललितपुरस्थित जेष्ठ वर्ण महाविहारमा युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत महाविहारलाई प्रदान गरिएको अवार्ड अफ मेरिट हस्तान्तरण भएको छ । नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
ललितपुरमा आयोजित समारोहमा स्थानीय समुदायका सदस्यहरु, इन्डियन नेशनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि, सम्पदा संरक्षणविद्हरु तथा नेपाल सरकारका अधिकारीहरुको सहभागी थिए । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानको हिस्साको रुपमा १३ करोड ७८ लाख रुपियाँमा जेष्ठ वर्ण महाविहारको संरक्षण कार्य अघि बढेको थियो ।
पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले प्राविधिक विशेषज्ञता उपलब्ध गराउनका लागि परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा भारतको इन्ट्याकलाई नियुक्त गरेको थियो । ‘उनीहरुले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग निकटतम समन्वयमा काम गरेका थिए’ भारतीय दुताबासले भनेको छ । विहारको पुनर्निर्माणपछि उद्घाटन २०८० चैत्र ९ गते तत्कालिन शहरी विकास मन्त्री धनबहादुर बुढा र भारतीय राजदूत नवीन श्रीवास्तवले गरेका थिए ।
युनेस्कोले समुदाय–केन्द्रित दृष्टिकोण र जटिल ऐतिहासिक नेवारी काष्ठकला तथा पारम्परिक वास्तुकलाको संरक्षणको आवश्यकतासँग आधुनिक भूकम्पीय सुरक्षा प्रबलीकरणलाई ध्यान दिएर पुननिर्माण गरेको छ । भारत सरकारले २०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई सहयोग पुर्याउन एक अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता गरेको थियो । पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले हालसम्म ५० हजार निजी आवास, ७० वटा विद्यालय र एक पुस्तकालय, एक सय २२ वटा स्वास्थ्य संस्था तथा १७ वटा सांस्कृतिक सम्पदा स्थलहरुको पुनर्निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसबाहेक भूकम्प प्रभावित जिल्लाहरुमा अवस्थित थप १४ वटा विद्यालय, ११ वटा स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदा क्षेत्रका १३ वटा परियोजनाहरु पुनर्निर्माणको विभिन्न चरणमा रहेका छन् ।
भारतले सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ र गोरखामा रहेका ३० वटा सांस्कृतिक सम्पदा परियोजनाहरुको संरक्षण तथा पुनस्र्थापनामामा सहयोग गरेको छ । ‘यी परियोजनाहरुमा ऐतिहासिक स्थलहरु, प्राचीन भवनहरु, मन्दिरहरुको पुनस्र्थापना र गुम्बाहरु तथा धर्मशाला भवनहरुको पुनर्निर्माण समावेश छन्’ भारतीय दुताबासले भनेको छ। भारतले काठमाडौंको सेतो मच्छिन्द्रनाथ मन्दिर, ललितपुरको कुमारी घर र जेष्ठ वर्ण महाविहार, भक्तपुरको जंगम मठ, र सिन्धुपाल्चोकको तार्के घ्याङ गुम्बामा सहयोग गरेको छ ।
समारोहमा बोल्दै भारतीय दुताबासका नियोग उपप्रमुख डा। राकेश पाण्डेले उपभोक्ता समुदाय, सिएलपिआईयु, इन्ट्याक र अन्य सरोकारवालाहरुलाई दिँदै जेष्ठ वर्ण महाविहार परियोजनाको सफलताले भारत र नेपालबीच रहेको गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई प्रष्ट पारेको बताए । उनले साझा र समृद्ध सांस्कृतिक पहिचानको संरक्षण तथा पुनस्र्थापनामा नेपाल सरकार र नेपाली जनतासँग साझेदारी गर्न भारत सरकार निरन्तर प्रतिबद्ध रहेको बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहकार्यको भावनाको बारे र जेष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारको भूमिकाले दुई देशको विकास साझेदारीलाई प्रतिबिम्बित गर्ने बताए । उनले ललितपुरका अन्य विभिन्न सांस्कृतिक सम्पदा स्थलहरुको पुनर्स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारको प्रशंसा गरे । यस मान्यताका लागि युनेस्कोलाई समेत उनले धन्यवाद दिए । जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरुले आर्थिक तथा प्राविधिक सहयोग समयमा नै उपलब्ध गराएको भन्दै भारत सरकारको प्रशंसा गरे ।