हस्पिटालिटी व्यवसायी विष्णुबहादुर कार्कीद्वारा रोटरी नेपाल–भुटानको गभर्नरमा पदभार ग्रहण

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को रोटरी वर्ष २०२६/२७ का लागि हस्पिटालिटी व्यवसायी तथा रोटेरियन विष्णुबहादुर कार्कीले डिस्ट्रिक्ट गभर्नरका रूपमा पदभार ग्रहण गरेका छन्। रोटरी इन्टरनेशनलका डिरेक्टर (२०२७–२०२९) रोटेरियन बासुदेव गोल्यानको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नेपाल र भुटानका १६५ रोटरी क्लबका ४६० भन्दा बढी रोटेरियन तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

पदभार ग्रहणपछि गभर्नर कार्कीले रोटरीको ‘सेवा नै धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबहरूलाई थप सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने, सेवामूलक परियोजनालाई प्रभावकारी र दिगो बनाउने तथा युवालाई रोटरीका माध्यमबाट सशक्त बनाउने आफ्नो प्राथमिकता रहेको बताए। 

इन्जिनियरिङ पृष्ठभूमि र मार्केटिङमा स्नातकोत्तर गरेका कार्की नेपालीसँगै फ्रेन्च, रसियन, अंग्रेजी र हिन्दी भाषामा दख्खल राख्ने बहुभाषिक व्यक्तित्व हुन्। हस्पिटालिटी क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका उनी बेइजिङ गार्डेन चाइनिज रेस्टुरेन्ट र अर्को शपका अध्यक्ष तथा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका प्रवर्द्धक हुन्। यसअघि उनले दक्षिण एसियाकै ठूलो तयारी पोसाक उद्योगमा जनरल म्यानेजरका रूपमा तीन हजारभन्दा बढी कर्मचारीको नेतृत्व गरेका थिए भने ट्राभल तथा पर्यटन क्षेत्रमा पनि लामो अनुभव बटुलेका छन्।

कार्कीको परिवार पनि उद्यमशीलता र रोटरी अभियानमा सक्रिय छ। उनकी पत्नी नीरु केसी कार्की सफल उद्यमी तथा रोटेरियन हुन् भने दुवै सन्तान इन्टर्याक्ट हुँदै रोटरी अभियानमा आबद्ध छन्।

व्यवसायसँगै कार्की खेलकुद र सार्वजनिक नीतिनिर्माण क्षेत्रमा पनि सक्रिय छन्। चार दशकदेखि करातेमा आबद्ध उनी ब्ल्याक बेल्ट हुन्। उनले नेपाल सोटोकान कराते संघको अध्यक्ष, नेपाल कराते महासंघको सल्लाहकार तथा नेपाल सितोरियो कराते संघको संस्थापक कोषाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी नेपाल आइस स्केटिङ तथा स्की संघका अध्यक्ष छन्। साथै, नेपाल पर्यटन परिषद्, राष्ट्रिय खेलकुद परिषद्, अर्थ मन्त्रालयको गैर–कर राजस्व कार्यदल तथा ऊर्जा र उद्योग मन्त्रालयमा विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका छन्।

दुई दशकभन्दा लामो समयदेखि रोटरीमा सक्रिय कार्की रोटरीका ‘मेजर डोनर’ समेत हुन्। उनले रोटरी क्लब अफ नागार्जुनका संस्थापक सदस्य, रोटरी क्लब अफ बानेश्वरका संस्थापक अध्यक्ष, डिस्ट्रिक्ट रोटर्याक्ट कमिटीका सभापति, एसिस्टेन्ट गभर्नर तथा विभिन्न डिस्ट्रिक्ट समितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। 

सुझावित समाचार