राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना खारेज गर्ने कुनै प्रस्ताव नरहेको बताए।
लामिछानेका अनुसार रास्वपाले प्रदेश संरचनालाई हटाउने नभई त्यसलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा बहसको प्रस्ताव अघि सारेको हो। प्रदेश संरचनाको प्रभावकारिताबारे छलफल आवश्यक रहेको महसुस सबै राजनीतिक दलले गरिसकेको उनको भनाइ थियो।
उनले संविधानका विभिन्न विषयमा समयानुकूल बहस आवश्यक रहेको उल्लेख गर्दै प्रदेश संरचनाको सुधार पनि त्यही बहसको एक हिस्सा भएको बताए। रास्वपाले प्रदेश खारेजीको प्रस्ताव नराखेको दोहोर्याउँदै उनले पुराना राजनीतिक दलका केही नेताहरूले भने प्रदेश खारेजीकै पक्षमा सार्वजनिक रूपमा धारणा राख्दै आएको स्मरण गराए।
लामिछानेले रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा दृढ रहेको बताउँदै संघीय संरचनालाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने विषयमा खुला बहस हुनुपर्नेमा जोड दिए।