सल्यानको वनगाड कुपिन्डे नगरपालिकाले विपन्न तथा आर्थिक रूपमा कमजोर २२३ घरधुरीलाई विद्युतीय चुलो वितरण गरेको छ। स्वच्छ तथा वातावरणमैत्री ऊर्जाको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण गरेको नगरपालिकाले जनाएको छ।
नवीकरणीय ऊर्जा तथा जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत छनोटमा परेका लाभग्राहीलाई एक सेट विद्युतीय चुलो, प्रेसरकुकर र कराही हस्तान्तरण गरिएको मेयर कर्णबहादुर बुढाथोकीले जानकारी दिए। परम्परागत दाउरामा आधारित खाना पकाउने प्रणालीलाई क्रमशः विस्थापित गर्दै आधुनिक, स्वच्छ र सुरक्षित ऊर्जाको प्रयोग घर–घरमा विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।
मेयर बुढाथोकीले घरभित्रको धुवाँका कारण हुने स्वास्थ्य समस्या न्यूनीकरण, वन संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न विद्युतीय चुलोको प्रयोग प्रभावकारी हुने उल्लेख गरे।
गत आर्थिक वर्षमा सार्वजनिक सूचना जारी गरी विपन्न परिवारबाट आवेदन संकलन गरिएको र प्राप्त आवेदन, विपन्न परिवारको तथ्यांक र कार्यालयको दर्ता सूचीका आधारमा २२३ लाभग्राही छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले जानकारी दिए।
कार्यक्रमका लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने लाभग्राहीहरूको करिब दुई लाख रुपैयाँबराबरको साझेदारी रहेको पन्थीको भनाइ छ। स्थानीय सरकार र समुदायको सहकार्यमा कार्यक्रम कार्यान्वयन गरिएको हो।
आफूजस्ता आर्थिक रूपमा कमजोर परिवारका लागि नगरपालिकाको सहयोग ठुलो राहत भएको वनगाड कुपिन्डे नगरपालिका– १, घाटगाउँकी मेघी बुढाक्षेत्रीले बताइन्। पहिले दैनिक दाउरा खोज्न जंगल जानुपर्ने र वर्षायाममा भिजेको दाउराका कारण थप समस्या हुने गरे पनि अब विद्युतीय चुलोले धेरै सहज हुने उनको अपेक्षा छ।