गोली प्रहार गरी भारतीय लागुऔषध कारोबारी पक्राउ

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिराहाको नवराजपुर गाउँपालिका– ५, झाँझपट्टीमा प्रहरीले गोली प्रहार गरी भारतीय लागुऔषध कारोबारी समूहका एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला घर भएका करिब ३५ वर्षीय अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। उनका अनुसार प्रहरीले चलाएको गोली लागेर घाइते भएका कलामलाई बिआर ३२ एआर ६०२४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो।

देब्रे खुट्टामा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि सिराहा प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार कलामको समूहमा रहेका बाँकी तीनजना भने एउटा मोटरसाइकल चढेर भागेकाले खोजतलास भइरहेको छ।

लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो करिब २ बजेतिर लागुऔषध कारोबारी समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई लक्षित गरी गोली प्रहार भएको सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए। प्रहरीले जवाफी फायर गर्दा घाइते भएका एकजनालाई लागुऔषधसहित पक्राउ गर्न सफल भएको हो।

प्रहरी टोलीले उनको साथबाट प्लास्टिकसहित १२२.८ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद गरेको र अन्यको खोजी तथा थप अनुसन्धान भइरहेको उनले बताए।

यसअघि सिराहा प्रहरीले सिराहा नगरपालिका– २१, लगडीगोठबाट ७ असारको साँझ गोली प्रहार गरी भारत मधुवनी जिल्ला पौदमाहा ग्राम पञ्चायत वडा नं. २, जोगिया टोल बस्ने कुख्यात भारतीय लागुऔषध कारोबारी करिब २८ वर्षीय छोटु भनिने रञ्जितकुमार पासवान र सोही ठाउँका एक नाबालकलाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेका पासवानको साथबाट प्लास्टिकबाहेक ९२ ग्राम ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसमेत बरामद गरेको थियो।

सुझावित समाचार