उदयपुरमा जंगली हात्तीको आक्रमण बर्सेनि बढ्दो, ६ वर्षमा एक करोडभन्दा बढीको क्षति

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

केही दिनअघि उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ र ४ स्थित लामाचौरी गाउँमा जंगली हात्ती बस्तीमा पसेर ११ घरमा क्षति पुर्याउँदा १६ लाख २० हजार रुपैयाँबराबरको नोक्सानी भयो। उदयपुरमा जंगली हात्ती बस्ती प्रवेश गरी क्षति पुर्याउने घटना अब नौलो रहन छाडेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार जिल्लामा जंगली हात्तीको आक्रमण बर्सेनि बढ्दै गएको छ। पछिल्ला ६ आर्थिक वर्षको विवरणले जंगली हात्तीका कारण हुने भौतिक तथा आर्थिक क्षति निरन्तर बढ्दो क्रममा रहेको देखाउँछ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार आर्थिक वर्ष ०७७/७८ देखि चालू आर्थिक वर्ष ०८२/८३ सम्मका तथ्यांकले हात्तीको आक्रमणबाट हुने क्षति बढेको देखाएको छ। उनका अनुसार मानवबस्तीमा पसेर सबैभन्दा बढी क्षति पुर्याउने वन्यजन्तु जंगली हात्ती नै हो।

प्रहरीको तथ्यांकअनुसार ६ वर्षको अवधिमा जंगली जनावर तथा हात्तीको आक्रमणबाट १६ जना घाइते भएका छन्। हात्तीको आक्रमणबाट १३४ वटा घर, १६ वटा गोठ र ८२ वटा अन्य संरचनामा क्षति पुगेको छ। यसबाट १३८ घरपरिवार प्रभावित भएका छन् भने कुल आर्थिक क्षति एक करोड नौ लाख ११ हजार दुई सय  रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष ०७७/७८ मा हात्तीको आक्रमणबाट दुईजना घाइते भएका थिए। उक्त वर्ष १३ घरपरिवार प्रभावित हुँदा अनुमानित नौ लाख सात हजार रुपैयाँबराबरको क्षति भएको थियो।

आर्थिक वर्ष ०७८/७९ मा एकजना घाइते भएका थिए भने ३० घरपरिवार प्रभावित भएका थिए। त्यस वर्ष अनुमानित आर्थिक क्षति ३३ लाख ७७ हजार रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष ०७९/८० मा मानवीय क्षति नभए पनि भौतिक क्षति कायम रह्यो। सो वर्ष ६ घरपरिवार प्रभावित हुँदा दुई लाख ९५ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष ०८०/८१ मा २६ घरपरिवार प्रभावित भएका थिए। त्यस वर्ष अनुमानित आर्थिक क्षति १६ लाख ६६ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष ०८१/८२ मा चारजना घाइते भएका थिए। १८ घरपरिवार प्रभावित हुँदा अनुमानित आर्थिक क्षति १६ लाख ९० हजार रुपैयाँ पुगेको थियो।

चालू आर्थिक वर्ष ०८२/८३ मा असार १५ गतेसम्म ५० घरपरिवार प्रभावित भइसकेका छन्। यस अवधिमा २९ लाख ७६ हजार दुई सय रुपैयाँबराबरको क्षति भएको डिएसपी बमले जानकारी दिए।

उनका अनुसार भित्री मधेश क्षेत्रमा पर्ने बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका र कटारी नगरपालिकाका वन क्षेत्रसँग जोडिएका बस्ती जंगली हात्तीबाट सबैभन्दा बढी प्रभावित छन्। जंगलबाट बस्तीमा पसेका हात्तीले घर भत्काउने, अन्नबाली नष्ट गर्ने तथा स्थानीयमाथि आक्रमण गर्ने घटना भइरहेका छन्।

पूर्वी नेपालको झापा, मोरङ र सुनसरीबाट कोशी टप्पु वन्यजन्तु आरक्ष हुँदै हात्ती उदयपुर प्रवेश गर्ने गरेका छन्। बेलका नगरपालिकाबाट प्रवेश गरेको हात्तीको बथान कटारी हुँदै सिन्धुलीसम्म पुग्ने गरेको छ। उदयपुरगढी गाउँपालिका– ७ का स्थानीय अगुवा होमबहादुर बस्नेतका अनुसार विशेषगरी मदन भण्डारी लोकमार्गआसपासका चुरे क्षेत्रका बस्तीमा जंगली हात्तीले बढी क्षति पुर्याउने गरेका छन्।

सुझावित समाचार