गैरे फ्रेसपोडले भित्र्यायो पहिलो हेलमेट स्यानिटाइजिङ मेसिन

एउटा हेलमेट स्यानिटाइज गर्न १७५ रुपैयाँ सेवा शुल्क लाग्ने

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

नेपालमा हेलमेट क्लिनिङ तथा स्यानिटाइजिङका लागि अत्याधुनिक मेसिन भित्रिएको छ। भारतको एक मात्र प्रतिष्ठित कम्पनी फ्रेसपोड इन्डियाले उत्पादन गरेको यस मेसिनको नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेसपोड प्रालि रहेको कम्पनीले जनाएको छ।

गैरे फ्रेसपोड प्रालिको प्रधान कार्यालय बुटवल– ११, कालिकानगरमा रहेको छ। गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेका अनुसार लामो समय हेलमेट प्रयोग गर्दा पसिना, धुलो, ब्याक्टेरिया र दुर्गन्ध जम्ने समस्याको समाधानका लागि यो प्रविधि नेपालमा भित्र्याइएको हो।

यस किसिमको प्रविधि नेपालमा पहिलोपटक भित्र्याइएको गैरेले बताएका छन्। उनले मेसिनमा अनलाइन क्युआर भुक्तानी प्रणालीसमेत जडान गरिएको जानकारी दिँदै ग्राहकले नगद बोक्नुपर्ने झन्झटविनै डिजिटल माध्यमबाट सहज रूपमा सेवा शुल्क भुक्तानी गर्न सकिने बताए।

सन् २०२५ मे ४ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले यस मेसिनको औपचारिक उद्घाटन गरेका थिए। छोटो समयमै भारत, श्रीलंका तथा अफ्रिकालगायतका देशमा विस्तार भएको फ्रेसपोडले हालसम्म दुई सयभन्दा बढी मेसिन बिक्री गरी पाँच लाखभन्दा बढी हेलमेट स्यानिटाइज गरिसकेको कम्पनीले जनाएको छ।

फ्रेसपोडले भारतमा गोल्ड मेडल तथा सर्बिया, थाइल्यान्ड, मलेसिया र चीनमा आयोजित अन्तर्राष्ट्रिय इनोभेसन प्रदर्शनीहरूमा समेत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। गैरे प्रतिष्ठानका निर्देशक एवं गैरे फ्रेसपोड प्रालिका अध्यक्ष प्रवेशराज गैरेका अनुसार यो मेसिनले जम्मा पाँच मिनेटमा हेलमेटभित्रको धुलो, दुर्गन्ध र जीवाणु हटाई हेलमेटलाई सफा, स्यानिटाइज र सुगन्धित बनाउँछ।

मेडिकल ल्याब परीक्षणबाट प्रमाणित यो प्रविधिबाट स्यानिटाइज गरिएको हेलमेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो सेवा विशेष गरी मोटरसाइकलचालक, राइडर, डेलिभरी सेवा प्रदायक तथा दैनिक हेलमेट प्रयोगकर्ताका लागि उपयोगी हुनेछ। नियमित हेलमेट सरसफाइले छालासम्बन्धी समस्या तथा संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।

कम्पनीले बिहीबारदेखि नेपालमा औपचारिक रूपमा सेवा सुरु गर्दै आगामी दिनमा पेट्रोल पम्प, सपिङ कम्प्लेक्स, कलेज, अस्पताल तथा टु ह्विलर डिलर एन्ड सर्भिस सेन्टर नेटवर्कमार्फत देशभर सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ। कम्पनीका अनुसार हेलमेट स्यानिटाइजिङ मेसिनको मूल्य भ्याटसहित पाँच लाख ९५ हजार रुपैयाँ रहेको छ। जसमा एक वर्षको म्यानुफ्याक्चरिङ वारेन्टी उपलब्ध छ।

एउटा हेलमेट स्यानिटाइज गर्न १७५ रुपैयाँ

एउटा हेलमेट स्यानिटाइज गर्न १७५ रुपैयाँ सेवा शुल्क निर्धारण गरिएको छ। बिहीबार बुटवलमा विशेष कार्यक्रमका साथ नेपालका लागि शुभारम्भ गरिएको कार्यक्रममा नाडाका सचिव मेघराज पौडेलले यस्तो प्रविधिले हेलमेट सफा राखेर प्रयोगकर्ताको स्वास्थ्य संरक्षणमा योगदान पुग्ने बताए। देवदह मेडिकल कलेजका डाक्टर मनोज गैरेले प्रयोग हुने स्यानिटाइजिङ प्रविधि स्वास्थ्यका लागि लाभदायी रहेको ल्याब परीक्षणबाट पुष्टि भएको जानकारी दिँदै भने, ‘जसरी मानिसले हात धोएर खाना खाने बानी अपनाउँछन् त्यसैगरी हेलमेट पनि नियमित रूपमा सफा राख्नुपर्छ।’

कार्यक्रममा उत्पादक कम्पनीका प्रतिनिधि भास्कर लकजु र दिलीप लकजुले भारतमा लामो अध्ययन र अनुसन्धानपछि विकसित गरिएको यो प्रविधि नेपालमा पनि विस्तार गरिएको बताए। उनीहरूले हेलमेटको सरसफाइ र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै आधुनिक प्रविधिमार्फत सहज सेवा उपलब्ध गराइएको उल्लेख गरे।

कार्यक्रममा नाडा लुम्बिनी प्रदेश अध्यक्ष गणेश भट्टराई, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे र गैरे प्रतिष्ठानकी प्रिया गैरेले हेलमेट स्यानिटाइजिङ सेवा अटोमोबाइल क्षेत्रका लागि अर्को महत्त्वपूर्ण उपलब्धि भएको धारणा राखे। उनीहरूले नयाँ प्रविधि नेपाली बजारमा भित्रिएसँगै हेलमेट प्रयोगकर्ताले नियमित सरसफाइको सहज सेवा पाउने बताए।

See More On

सुझावित समाचार