सेयर खरिद गर्दा २५ प्रतिशत अग्रिम रकम बुझाउनुपर्ने प्रावधान हटाउन लबिङ

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

सेयर खरिद गर्दा अग्रिम २५ प्रतिशत तिर्नुपर्ने व्यवस्था हटाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ब्रोकरहरूले लबिङ सुरु गरेका छन् । नेपाल रि–इन्स्योरेन्सको सेयर मूल्य उचाल्न २५ प्रतिशत अग्रिम रकम भुक्तानी नभएको प्रमाणलाई समेत आधार बनाएर भृकुटी स्टक ब्रोकिङका सन्दीप चाचानविरुद्ध  मुद्दा चलाइएपछि ब्रोकरहरू सशंकित भएका हुन् ।

धितोपत्र कसुरसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल समूहसहित ब्रोकरविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेपछि ब्रोकरहरूले बोर्डका नवनियुक्त अध्यक्ष भट्टलाई भेटेर यस्तो सुझाव दिएका छन् । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लिखित रूपमा सुझावपत्र पेस गर्दै अग्रिम रकम लिने वा नलिने निर्णय पूर्ण रूपमा ब्रोकर कम्पनीहरूको स्वविवेकमा छाड्नुपर्ने उल्लेख गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालले २५ प्रतिशत रकम अग्रिम बुझाउनुपर्ने  व्यवस्था अपायक र अव्यावहारिक भएको बताए ।

सुझावपत्रमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानका क्रममा सेयर ब्रोकर कम्पनीहरूको मुख्य कारोबार र राफसाफ (सेटलमेन्ट) हुने बैंक खाता नै रोक्का गरिदिने गरेकाले लाखौँ लगानीकर्ताको भुक्तानी रोकिने र बजारमा अविश्वास बढ्ने गरेको समेत जिकिर छ । सिआइबीले अनुसन्धान गर्दा सेबोनले भृकुटी स्टक ब्रोकिङ खाता रोक्का गरेको थियो । ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ को दफा ६(२) संशोधन गरी ब्रोकरहरूको राफसाफ खाता रोक्का नहुने व्यवस्था गर्न बोर्डले पहल गर्नुपर्ने माग एसोसिएसनको छ । ब्रोकरहरूले सर्वसाधारण लगानीकर्ताले भोग्नुपरेका व्यावहारिक समस्यादेखि नीतिगत र प्राविधिक तहसम्मका १३ वटा विषयलाई समेटेर सुझाव दिएका छन् । 

See More On

सुझावित समाचार