कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आयोजना र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज)को सहकार्यमा दुईदिने कृषि पत्रकारिता तालिम सम्पन्न भएको छ। तालिम १७–१८ असारमा ललितपुरको हरिहर भवनस्थित केन्द्रको सभाहलमा भएको हो।
तालिम अवधिभर ६ वटा सत्र सञ्चालन भएका थिए। जसमा पहिलो दिन ‘कृषि नीति, संघीयता र बजेट विश्लेषण’ सत्रमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले सहजीकरण गरेका थिए। त्यस्तै, ‘कृषि क्षेत्रको समग्र अवस्था र कृषि समाचारका स्रोत, तथ्यांक र सूचना व्यवस्थापन’बारे कृषि सूचना केन्द्र प्रमुख एवं सहसचिव सवनम सिवाकोटी र ‘खोज पत्रकारिता’बारे पत्रकार पुष्पराज आचार्यले सहजीकरण गरेका थिए।
त्यसैगरी दोस्रो दिन, ‘डिजिटल पत्रकारिता’माथि पत्रकार सविन धमला, ‘विशिष्टीकृत पत्रकारिता’माथि गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेत र ‘कृषि पत्रकारिताको बदलिँदो आयाम र नेपालको कृषि प्रणाली’बारे पत्रकार एवं लेखक नारायण वाग्लेले प्रस्तुति दिए। कार्यक्रममा विभिन्न मिडियाबाट करिब डेढ दर्जन पत्रकार सहभागी थिए।
कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न र यस क्षेत्रका समस्या तथा सम्भावनालाई उजागर गर्न कृषि पत्रकारिताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको सहसचिव सिवाकोटीले बताइन्। तालिममा सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ।