महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राष्ट्रिय बाल अधिकार परिषदमा छड्के अनुगमन गरी नाैबुँदे निर्देशन दिएकी छिन्।
बिहीबार बिहान मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोलीसहित परिषद्को पुल्चोकस्थित कार्यालय पुगेकी मन्त्री बादीले बालबालिकाको संरक्षण, बाल अधिकार प्रवर्द्धन तथा संस्थागत सुधारका विषयमा परिषद्लाई आवश्यक निर्देशन दिएकी हुन्।
पछिल्लो समय जोखिममा रहेका बालगृहबाट बालबालिकाको उद्धार तथा व्यवस्थापनका विषयमा परिषद्को कार्यसम्पादनप्रति मन्त्री बादीले असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘बालगृहका नाममा बालबालिका थप जोखिममा परिरहेका छन्। यो अवस्थाबाट अब हामीले हाम्रा बालबालिकालाई जोगाउनुपर्छ। अर्को निर्णय नभएसम्म नयाँ बालगृह खोल्ने अनुमति प्रदान नगर्नुहोस्।’
मन्त्री बादीले परिषदमा कार्यरत सम्पूर्ण कर्मचारीलाई हालसम्म सम्पादन गरेको कार्य विवरण सात दिनभित्र पेस गर्नसमेत निर्देशन दिएकी छिन्।