बर्ड फ्लुको जोखिम बढेपछि धादिङका नाकामा कडा निगरानी

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

देशका ११ जिल्लाका १३० स्थानमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएपछि धादिङमा उच्च सतर्कता अपनाइएको छ । जिल्लास्तरीय बर्ड फ्लु प्राविधिक समितिले जिल्लाका प्रमुख नाकामा कुखुरा, चल्ला, अन्डा तथा अन्य कुखुराजन्य वस्तुको ओसारपसारमा विशेष निगरानी सुरु गरेको हो ।

पशु सेवा कार्यालय धादिङका वरिष्ठ पशु विकास अधिकृत डाक्टर बबलु ठाकुरका अनुसार संक्रमण प्रभावित जिल्लाबाट धादिङ भित्रिने कुखुरा तथा कुखुराजन्य वस्तुको नियमित जाँच भइरहेको छ । आवश्यकता परे बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम जोखिमयुक्त क्षेत्रबाट ल्याइने कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार रोक्ने तथा नष्ट गर्नेसम्मका कानुनी व्यवस्था कार्यान्वयन गरिने उनले बताए ।

अनुगमनका क्रममा कुखुराको स्वास्थ्य अवस्था, भेटेरेनरी स्वास्थ्य प्रमाणपत्र (भेटेनरी सर्टिफिकेट)लगायतका कागजात परीक्षण गरिँदै आएको उनले बताए । ‘कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार प्रायः रातिको समयमा हुने भएकाले रात्रिकालीन अनुगमनलाई समेत प्राथमिकता दिइएको छ,’ उनले भने, ‘बर्ड फ्लु देखिएपछि कतिपयले संक्रमित कुखुरा हतारमा बिक्री गर्ने प्रयास गर्न सक्छन् । त्यसैले संक्रमण फैलिन नदिन नाकामा निगरानी बढाइएको हो ।’

‘हालसम्म धादिङमा गरिएको अनुगमनका क्रममा बर्ड फ्लु संक्रमण पुष्टि हुने अवस्था देखिएको छैन । आवश्यक कागजातविना कुखुरा तथा कुखुराजन्य वस्तु ल्याउनेलाई भने प्रवेश नदिई फर्काउने र सचेत गराउने काम भइरहेको छ,’ उनले भने । 

पशु सेवा कार्यालयले सञ्चारमाध्यममार्फत बर्ड फ्लुबारे जनचेतना फैलाउने अभियान पनि सञ्चालन गरिरहेको छ । कुखुरा फार्म वा अन्य स्थानमा अस्वाभाविक रूपमा कुखुरा मरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन कार्यालयले किसान तथा सर्वसाधारणलाई आग्रह गरेको उनले बताए । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पशु सेवा कार्यालयको संयुक्त टोलीले जिल्लाका विभिन्न नाकामा नियमित अनुगमन गरिरहेको छ । संघीय राजधानी काठमाडौंलाई देशका अधिकांश जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ धादिङ भएर आवतजावत गर्ने भएकाले जिल्लालाई उच्च जोखिम क्षेत्रका रूपमा राखेर निगरानी थप कडा पारिएको जिल्लास्तरीय बर्ड फ्लु प्राविधिक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बताइन् । 

संक्रमणको उच्च जोखिम देखिएपछि जिल्लाका १३ वटै पालिकाका पशु सेवा शाखाका प्रमुखहरूसँग बर्ड फ्लु संक्रमणबाट जोगाउन अनुगमन, निगरानी तथा उच्च सतर्कताका लागि जनचेतना फैलाउने विषयमा छलफल गरिएको छ । बर्ड फ्लु शंका लाग्यो भने नमुना संकलन गर्ने, सूचना निकालेर जनचेतना फैलाउने कार्य भइरहेको जनाइएको छ । 

सुझावित समाचार