समस्याग्रस्त सहकारीबाट बचत फिर्ता सुरु गरिने

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका पाँच सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बुधबार बसेको बागमती प्रदेशको सहकारी क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापनसम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा फिर्ताको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पाँच समस्याग्रस्त सहकारीका १४ हजारभन्दा बढी बचतकर्ताको २२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम जोखिममा छ ।

बैठकले हाल व्यवस्थापन प्रक्रियामा रहेका सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी लिमिटेड, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड, लालीगुराँस बचत तथा ऋण सहकारी लिमिटेड र सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकमका आधारमा साना बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया यथाशीघ्र सुरु गर्ने निर्णय गरेको मुख्यमन्त्री बानियाँले जानकारी दिए । ‘साना बचतकर्ताको रकम फिर्ता अब प्रदेश सरकारको पहिलो प्राथमिकता हो । सम्पत्ति बिक्री र ऋण असुलीबाट प्राप्त रकम तत्काल बचतकर्तासम्म पुर्याउने प्रक्रिया सुरु हुन्छ,’ उनले भने, ‘भविष्यमा समस्याग्रस्त सहकारी घोषणा पनि तथ्य, प्रमाण र वित्तीय अवस्थाको वस्तुगत अध्ययनका आधारमा मात्रै गरिनेछ ।’ 

बैठकले समितिको कामलाई थप प्रभावकारी बनाउँदै सहकारी तथा गरिबी निवारण मन्त्रालयमा त्रैमासिक प्रगति प्रतिवेदन बुझाउने निर्णय पनि गरेको छ । यस्तै, अब कुनै पनि सहकारीलाई समस्याग्रस्त घोषणा गर्नुअघि पर्याप्त वस्तुगत आधार, प्रमाण तथा वित्तीय अवस्थाको विस्तृत अध्ययन गरिने निर्णयसमेत बैठकले गरेको छ । 

See More On

सुझावित समाचार