त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधारविज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार थापालाई नियुक्ति गरेका हुन्।

यसअघि सरकारले अध्यादेश जारी गरेपछि त्रिवि सेवा आयोगका अध्यक्षसहितका पदाधिकारीहरू पदमुक्त भएका थिए। त्यसपछिको रिक्त पदमा थापाको नियुक्ति गरिएको हो। थापा पूर्वाधार, सहरी विकास र सार्वजनिक प्रशासनका क्षेत्रमा लामो अनुभव भएका व्यक्तिका रूपमा परिचित छन्।

उनी विगतमा विवेकशील साझा पार्टीमा आबद्ध थिए। ०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवारसमेत बनेका थिए।

आर्किटेक्ट इन्जिनियर रहेका थापाले सहरी विकास, शिक्षा तथा पर्यटन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन्। उनले सहरी योजनामा स्नातकोत्तर अध्ययन गरेका छन् र आवास नीति तथा सहरी व्यवस्थापनका विषयमा विशेषज्ञता राख्छन्।

सरकारी सेवाबाट अवकाश पाएपछि उनी बागमती सरसफाइ अभियानमा समेत सहभागी हुँदै आएका थिए।

सुझावित समाचार