धनकुटाको सहिदभूमि गाउँपालिका– ७, साप्तिङटारबाट प्रतिबन्धित लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। साप्तिङटारस्थित प्रहरी चौकी आँखीसल्लाबाट खटिएको प्रहरीको टोलीले दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
गए राति करिब ११ः५५ बजे मूलघाटबाट साप्तिङटारतर्फ जाँदै गरेका प्रदेश १–०२–०५६ प ९४५८ तथा को.३६ प ६१७३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सहिदभूमि– ७ का २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्ज्वल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए।
उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ३७९ पत्ता (तीन हजार ७९० क्याप्सुल) र डिक्लोमाइन ३७९ पत्ता (तीन हजार ७९० ट्याब्लेट) बरामद गरिएको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले दुईवटा मोटरसाइकल, चारवटा मोबाइल फोनसमेत बरामद गरेको छ।
पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए।