बेलौरीमा नसर्ने रोग स्क्यानिङ शिविर

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको बेलौरी नगरपालिकामा नसर्ने रोगका बिरामीको संख्या बढिरहेको पाइएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकले उच्च रक्तचाप, मोटोपन, मधुमेह, मिर्गौलालगायत रोगका बिरामीको संख्या वृद्धि भएको देखाएको हो।

स्वास्थ्य शाखाले नगरका १० वटै वडाहरूमा नसर्ने रोग स्क्यानिङ शिविर सञ्चालन गरेको थियो। कुल तीन हजार ३१६ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा एक हजार १२ जनामा नसर्ने रोग देखापरेको हो। परीक्षण गरिएकामध्ये ३१.५१ प्रतिशत मानिसमा नसर्ने रोग देखिएको हो।

३६८ जनामा उच्च रक्तचाप, ४११ जनामा मोटापन, १५२ जनामा मधुमेह र ८१ जनामा मिर्गौला रोग देखिएको छ। तथ्यांकअनुसार वडा नं. १ मा २२१ जनामा परीक्षण गर्दा उच्च रक्तचाप २७, मधुमेह १२ र मोटोपन २४, वडा नं. २ मा ४२६ जनाको परीक्षणमध्ये ६२ जनामा उच्च रक्तचाप, २७ जनामा मधुमेह, एकजनामा मिर्गौला, २८ जनामा मोटोपन भेटिएको छ।

यसैगरी, वडा नं. ३ मा २३६ जनामध्ये दुईजनामा उच्च रक्तचाप, चारजनामा मधुमेह, २० जनामा मोटापना, वडा नं. ४ मा २७७ जनामध्ये ४८ जनामा उच्च रक्तचाप, १९ जनामा मधुमेह, १३ जनामा मिर्गाैला, १५० जनामा मोटापना तथा वडा नं. ५ मा २११ जनाको परीक्षणमा ४९ जना उच्च रक्तचाप, ३३ जनामा मधुमेह, २५ जनामा मिर्गौला, पाँचजनामा मोटापना पुष्टि भएको छ।

वडा नं. ६ मा ४५९ जनामध्ये ३० जनामा उच्च रक्तचाप, १६ जनामा मधुमेह, आठजनामा मिर्गौला, १२ जनामा मोटोपन, वडा नं. ७ मा १७९ जनामध्ये २१ जनामा उच्च रक्तचाप, सातजनामा मधुमेह, १३ जनामा मिर्गौला, ६१ जनामा मोटोपन, वडा नं. ८ मा ३४१ जनामध्ये ४५ जनामा उच्च रक्तचाप, १३ जनामा मधुमेह, १५ जनामा मिर्गौला, ८५ जनामा मोटोपन, वडा नं. ९ मा ४३० जनामध्ये ५४ जनामा उच्च रक्तचाप, १२ जनामा मधुमेह, तीनजनामा मिर्गौला, १२ जनामा मोटोपान तथा वडा नं. १० मा ४३६ जनामध्ये ३० जनामा उच्च रक्तचाप, आठजनामा मधुमेह, चारजनामा मिर्गौला र १४ जनामा मोटोपन देखिएको छ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मानबहादुर चन्दले नगरका सबै गाउँबस्तीमै पुगेर बिरामीको चेकजाँच गर्दै नसर्ने रोग पहिचान गरिएको बताए। मेयर पोतीलाल चौधरीले नगरमा नसर्ने रोगको पहिचान भएकाले सोहीअनुरूप योजना ल्याउने बताए।
 

सुझावित समाचार