थुनामा रहेका शिक्षकलाई पालिकाको तलब !

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

दाङका एक शिक्षक फौजदारी अभियोगमा थुनामा रहेकै अवधिको तलब निकासा भएको पाइएको छ। दाङको राजपुर गाउँपालिका– २ स्थित जनज्योति माध्यमिक विद्यालय, बेलामा अस्थायी करारमा कार्यरत शिक्षक पाटेश्वर यादव थुनामा रहेको अवधिको समेत तलब भुक्तानी भएको हो।

शिक्षा नियमावली, २०५९ को नियम १४१(२) अनुसार नैतिक पतन देखिने फौजदारी अभियोगमा गिरफ्तार भई थुनामा रहेको शिक्षक स्वतः निलम्बन भएको मानिने र निलम्बन अवधिभर तलब–भत्ता नपाउने व्यवस्था छ। तर, यादवलाई जेलमा रहेको १६ महिनाको अवधिको तलब, चाडपर्व खर्च र पोसाक भत्तासहित कुल ६ लाख ४६ हजार ३२६ रुपैयाँबराबरको रकम भुक्तानी गरिएको पाइएको हो।

यादवलाई जिल्ला अदालत दाङले ०७९ भदौ २१ गतेदेखि ०८० मंसिर ७ गतेसम्म पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि उनले सफाइ पाएका थिए। तर, पक्राउ परेकाे ०७९ साउन २५ गतेदेखि सफाइ पाउँदासम्मको तलबसमेत उनलाई भुक्तानी गरिएको पाइएको छ। उनले ०७९ र ०८० सालको चाडपर्व खर्च तथा ०७९ सालको पोसाक भत्ता पनि पाएको देखिएको छ।

यादवले माग फाराम भरेपछि गाउँपालिकाले पहिलो चरणमा दुई लाख ५० हजार रुपैयाँ र दोस्रो चरणमा तीन लाख ९६ हजार ३२६ रुपैयाँ भुक्तानी दिएको पाइएको हो। गाउँ कार्यपालिका र गाउँसभाले निर्णय गरेर उक्त तलब निकासा गरेका थिए। ०८० चैत २२ गते बसेको कार्यपालिका बैठकले यादवलाई तलब दिने निर्णय गरेको थियो। त्यसको करिब एक वर्षपछि ०८१ फागुन ९ गते बसेको गाउँसभाले निर्णय अनुमोदन गरेपछि रकम भुक्तानी गरिएको थियो।

यसरी गैरकानुनी रूपमा तलब भुक्तानी गरिएको भन्दै महालेखा परीक्षकको कार्यालयले उक्त रकम असुलउपर गर्न निर्देशन दिएको छ।

शिक्षक यादव भन्छन्– मैले तलब बुझेको छैन

शिक्षक यादवले भने आफूले उक्त तलब नबुझेको बताएका छन्। आफूले तलब माग गरेपछि कार्यपालिका र गाउँसभाले निर्णय गरी रकम विद्यालयको खातामा पठाएको भए पनि आफूले रकम प्राप्त नगरेको उनको दाबी छ।

‘मैले त्यो रकम बुझेको छैन,’ उनले भने, ‘पालिकाको खाताबाट विद्यालयको खातामा गएको होला, त्यहीलाई बेरुजु निकालेको होला।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर गिरीले पाटेश्वरको तलब भन्दै विद्यालयको खातामा रकम आएको स्वीकार गरे। उनका अनुसार पहिलो किस्ताको दुई लाख ५० हजार रुपैयाँ भने भुक्तानी भइसकेको छ। त्यो वेला आफू अध्यक्षमा नरहेको उनले बताए।

तर, दोस्रो किस्तामा आएको तीन लाख ९६ हजार ३२६ रुपैयाँ भने आफू अध्यक्ष भइसकेपछि रोकिएको उनले बताए।

‘दोस्रो किस्तामा तीन लाख ९६ हजार ३२६ रुपैयाँ आएको थियो,’ उनले भने, ‘यो विषयमा अख्तियारमा उजुरी परिसकेको थियो, त्यसैले मैले भुक्तानी गरिनँ ।’

यादवले अदालतबाट सफाइ पाए पनि विद्यालयले सुरुमा हाजिर गराउन नमानेको अध्यक्ष गिरीको भनाइ छ। तर, पालिकाको दबाबपछि उनलाई केही समय गाउँपालिकामै हाजिर गराइएको उनले बताए।

‘हामीले हाजिर नै नगराउने भनेका थियौं,’ उनले भने, ‘तर, पालिकाले विद्यालयको नाममा तलब खाने गरी केही समय पालिकामै हाजिर गरायो। तीन महिनासम्म पालिकामै गए। पछि तलब विद्यालयको खातामा आएपछि दिनुपर्ने बाध्यता भएको रहेछ। अहिले भने हामीले रोकिदिएका छौँ।’

सभाले निर्णय गरेपछि दिन बाध्य भयौँ– प्रमुख प्रशासकीय अधिकृत डाँगी

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले कार्यपालिका र गाउँसभाको निर्णयपछि थुनामा रहेको अवधिको समेत तलब विद्यालयको खातामा भुक्तानी गरिएको बताए।

‘कार्यपालिका र गाउँसभाले निर्णय गर्यो,’ उनले भने, त्यसपछि हामीले विद्यालयको खातामा भुक्तानी गर्यौँ। तर, विद्यालयलाई त्यो रकम तत्काल भुक्तानी नगर्न भनेका थियौँ ।’

गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले पनि कार्यपालिका र गाउँसभाकै निर्णयका आधारमा रकम भुक्तानी गरिएको बताए। भुक्तानी प्रक्रियाबारे प्रमुख प्रशासकीय अधिकृतलाई बढी जानकारी हुने उनको भनाइ छ।

छोरीसँग प्रेम गरेको भन्दै विद्यार्थी कुटेको आरोपमा पक्राउ

यादवलाई आफ्नी छोरीसँग प्रेमसम्बन्ध रहेको भन्दै राजपुर गाउँपालिका– ३, खरदरियाका १९ वर्षीय मन्साराम यादवलाई कुटपिट गरेको आरोपमा पक्राउ गरिएको थियो। मन्साराम पाटेश्वरकै विद्यालयका विद्यार्थी थिए।

घरमै बोलाएर कुटपिट गरेको आरोपमा ०७९ साउन २३ गते गढवा इलाका प्रहरी कार्यालयमा जाहेरी परेपछि प्रहरीले पाटेश्वरलाई पक्राउ गरेको थियो। सोही घटनामा उनका दाइ धीरबहादुर यादवसहित अन्य केही व्यक्तिलाई पनि पक्राउ गरिएको थियो।

See More On

सुझावित समाचार