भारतमा सरकारलाई सबैभन्दा ठुलो चुनौती अनलाइन मजाकबाट सुरु भयो । मे १६ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार र जतिखेर पनि सामाजिक सञ्जालमा बिताउने युवालाई लक्षित गरेर ‘साङ्लो’ भनेपछि अमेरिकामा अध्ययनरत भारतीय विद्यार्थी अभिजित दीपकेले एक्समा आफ्नो सांकेतिक रूपमा विचार व्यक्त गर्दै लेखे, ‘यदि सबै साङ्ला एकसाथ सरकारविरुद्ध उत्रिए भने के हुन्छ ?’ उनको प्रश्नको हजारौँले जवाफ दिए ।
त्यसलगत्तै, उनले सबै ‘साङ्लो’को प्रतिनिधित्व गर्ने एउटा प्यारोडी राजनीतिक दल साङ्लो जनता पार्टी (सिजेपी) सुरु गरे, जसलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को विकल्प भनियो । जुन ६ मा दिपके स्वदेश फर्किए । सिजेपीको र्यालीले भाजपा नेतृत्वको सरकारलाई ढाल्ने क्रान्ति निम्त्याउन नसकेपछि धेरैले अनलाइन आन्दोलन ‘वास्तविक जीवनमा’ सफल हुने सम्भावनालाई खारेज गरे । तर, सायद राम्रो प्रश्न यो हो कि के सिजेपीले भारतीय राजनीतिलाई मौलिक रूपमा परिवर्तन गरेको छ ?
‘अल्छी र बेरोजगारहरूको आवाज’
नयाँ पार्टीको वेबसाइटमा दिपकेले सिजेपीलाई ‘अल्छी र बेरोजगारको आवाज’ भनेर वर्णन गरे र सदस्यता दुवै मापदण्ड अर्थात् दीर्घकालीन रूपमा अनलाइनमा ‘बकबक गर्न सिपालु’ हुनु आवश्यक रहेकोमा जोड दिए । सिजेपी तत्काल इन्टरनेट सनसनी बन्यो । चार दिनमा एक करोड इन्स्टाग्राम फलोअर्स प्राप्त भयो । यसअघि सन् २०२१ मा के–पप ब्वाय ब्यान्ड बिटिएका सदस्य किम तेह्युङको अकाउन्टले २४ घण्टामा सर्वाधिक धेरै फलोअर्स हुने कीर्तिमानी राखेको थियो । एक महिनाभित्र सिजेपीको फलोअर्स २२.५ मिलियन पुगेको थियो, जुन भाजपाको भन्दा दोब्बर बढी थियो । सिजेपीको सफलता अनलाइन अभियानमा व्यक्त गरिने चुट्किला, मिश्रित हास्य र पीडा र व्यंग्यमा निर्भर देखिन्छ । पार्टीले विश्वविद्यालयका लागि तीव्र प्रतिस्प्रर्धा गर्न बाध्य युवा भारतीय, बेरोजगारी र अनिश्चित काम मानसिक स्वास्थ्य संकट र बढ्दो प्रदूषण र लामो गर्मी लहरको बारेमा पर्यावरणीय चिन्ताको सामना गर्ने युवा भारतीयसँग कुरा गर्यो ।
भारतमा ४० प्रतिशत स्नातक युवा बेरोजगार छन् । उनीहरू भविष्यबारे चिन्तित छन्, गैरजिम्मेवार संस्थाप्रति अविश्वास गर्छन् र सरकारले बनाएको नीति–नियमले अब काम गर्दैन भन्ने कुरामा विश्वस्त छन् ।
पुस्तागत पीडा
प्रधानन्यायाधीश सूर्यकान्तको बेरोजगार युवालक्षित ‘साङ्लो’ टिप्पणी राष्ट्रिय चिकित्सा प्रवेश परीक्षा रद्दविरुद्ध विद्यार्थी आन्दोलनसँगै आएको थियो । परीक्षामा व्यापक अनियमितता भएको थियो । विद्यार्थीले कक्षा १२ र सार्वजनिक सेवा प्रवेश परीक्षामा विसंगति भएको आरोप पनि लगाए । परीक्षा तीव्र प्रतिस्पर्धात्मक हुन्छन् र शिक्षा प्रणालीमा बजेटको यति अभाव छ कि परिवारहरूले निजी कोचिङका लागि शुल्क तिर्न आफ्नो बचत रकम खर्च गर्छन् । धेरैका लागि परीक्षा रद्द गर्नु ढिलाइ थिएन ।
यो परीक्षाको दबाबले गहिरो समस्या प्रतिबिम्बित गर्दछ । भारतको आर्थिक वृद्धिको अधिकांश हिस्सा १० प्रतिशत जनसंख्यामा वितरित छ, जसले देशको कुल आम्दानी पाँच भागको तीन भाग कमाउँछन् र देशको दुईतिहाइ सम्पत्तिमा स्वामित्व राख्छन् । ४० प्रतिशत स्नातक युवा बेरोजगार छन् । युवा भारतीयहरू भविष्यका बारेमा चिन्तित छन्, गैरजिम्मेवार संस्थाहरूप्रति अविश्वास गर्छन् र सरकारले बनाएको नीति–नियमले अब काम गर्दैनन् भन्ने कुरामा विश्वस्त छन् ।
सरकारको आलोचना गर्ने वकिलहरूलाई सजाय दिइएको पनि उनीहरूले देखेका छन् । सिजेपीले देशमा विद्यमान युवाको मौन निराशालाई प्रतिनिधित्व गर्दछ । पार्टीको तत्काल माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा थियो । परीक्षाको असफलता र शैक्षिक सुधार नहुनुमा उनलाई मुख्य जिम्मेवार मानिएको छ । सिजेपीले व्यापक लोकतान्त्रिक सुधारका लागि पनि जोड दियो : न्यायिक स्वतन्त्रता, मतदान अधिकार, महिलाका लागि ५० प्रतिशत संसदीय प्रतिनिधित्व, अर्बपति कब्जाबाट मुक्त मिडिया, राजनीतिज्ञहरूको पार्टी परित्यागका लागि दण्ड र सरकारी खर्चको लागि सार्वजनिक जवाफदेहिता ।
सिजेपीविरुद्धको दमन हुन सक्छ प्रत्युत्पादक
सिजेपीविरुद्ध सरकारले सुरुदेखि नै दमन गर्दै आएको छ । सरकारले सिजेपीको वेबसाइट ब्लक गर्यो र सामाजिक सञ्जाल एक्सलाई खाता निलम्बन गर्न दबाब दियो । दिपकेले आफ्नो इन्स्टाग्राम खाता ह्याक भएको पनि रिपोर्ट गरे । अकाउन्ट ह्याक भएपछि सिजेपी हट्सएप, टेलिग्राम, डिसकोर्डमा आफ्ना गतिविधि सक्रिय पार्यो । सरकारले ‘राष्ट्रिय सुरक्षा’का आधारमा एक्स प्रतिबन्धलाई जायज ठहर गर्यो । अधिकारीहरूले सिजेपीको नाममा विदेशी हस्तक्षेप भएको दाबी गरे । सिजेपीका अनुयायीले आफूहरू विदेशबाट परिचालित भएको भन्ने दाबीलाई अस्वीकार गरे । फ्रान्स २४ सँग बोल्दै, दिपकेले यी आरोपलाई खारेज गरे । उनले ‘हाम्रा ९४ प्रतिशत अनुयायी भारतीय हुन्,’ भनेर जोड दिए ।
सरकारको उदासीन प्रतिक्रियाले व्यापक चिन्ता प्रतिबिम्बित गर्न सक्छ । जेन–जीको विरोध प्रदर्शनले हालै बंगलादेश, नेपाल र श्रीलंकामा सरकार ढालेका छन् । दक्षिणी भारतीय राज्य तमिलनाडुमा युवा मतदाताहरूले अभिनेताबाट राजनीतिज्ञ बनेका सी.जोसेफ विजयको नयाँ पार्टीलाई चुनावी सफलताका लागि प्रेरित गरे । विपक्षी कांग्रेस पार्टीले परिवर्तनलाई मान्यता दिएको छ । निकोबार टापुमा विवादास्पद विकासविरुद्ध एआई–सञ्चालित अभियान जेन–जी मतदातालाई लक्षित गरिएको छ र यसमा सिजेपी वेबसाइटमा जस्तै साङ्लाको टाउको भएको मानिस समावेश छ ।
के क्रान्ति असफल भएको हो ?
सिजेपीको पहिलो अफलाइन परीक्षण दुई साताअघि संयुक्त राज्य अमेरिकाबाट दीपके स्वेदश फर्केलगत्तै देशभरका धेरै सहरमा र्यालीको नेतृत्व गरेपछि आयो । जयपुर ¥यालीमा भिडबाट बोकेर लगिएको वेला उनीमाथि आक्रमण गरियो, त्यसपछि आक्रमणकारीलाई बचाउन खोजियो । विरोध प्रदर्शनमा राम्रो सहभागिता थियो, तर तिनीहरूले अर्को जेन–जी क्रान्ति सुरु गरेनन् । यो सम्भवतः किनभने सिजेपीले अझै सुसंगत ढंगले वैचारिक रूपमा रणनीति विकास गरेको छैन । समान प्रतिनिधित्वको आह्वानका बाबजुद उनीहरूसँग कुनै महिला प्रवक्ता छैनन् । सिजेपीको औपचारिक पार्टी स्थापना गर्ने कुनै योजना पनि छैन । यो सरकारलाई जवाफदेही बनाउन ‘दबाब समूह’ रहने बताइएको छ ।
भाजपामाथि दबाब
दक्षिण एसियाका अन्य स्थानमा भन्दा भारतमा युवा नेतृत्वको क्रान्तिको सम्भावना कम छ । विगत एक दशकमा भाजपाले भारतको लोकतान्त्रिक संस्थामा प्रभुत्व जमाउन लोकप्रिय बयानबाजी, राष्ट्रवादी विचारधाराको प्रयोग गरेको छ । भाजपासँग विपक्षीका गतिविधि तटस्थ गर्ने कला छ र उसले सिजेपीलाई पनि सोही कला प्रयोग गर्ने त्रास छ । तैपनि सिजेपीको उदयले सत्तारूढ दलका लागि सम्भावित कमजोरीलाई संकेत गर्दछ । जेन–जी मतदाता लगभग विश्वव्यापी स्मार्टफोन पहुँच र निरन्तर कनेक्टिभिटीको साथ वयस्क छन् । वर्ग र जातीय रेखा पार गर्दै तिनीहरू डिजिटल रूपमा धाराप्रवाह र राजनीतिक रूपमा सचेत छन् ।
तिनीहरू चाँडै नै भारतको सबैभन्दा ठुलो मतदान समूह हुनेछन् । सिजेपीले चुनावी रूपमा सफलता पाउँछ कि पाउँदैन भन्ने कुरा यसले प्रतिनिधित्व गर्ने कुराभन्दा गौण हुन सक्छ । यसले निगरानी, सेन्सरसिप र डरको सामना गर्न सक्ने पुस्ता देखाएको छ । यसले अधिनायकवादीलाई सबैभन्दा बढी डर लाग्ने उपकरण– हास्य पनि प्रयोग गरेको छ । सिजेपी असफल भए पनि यो विचार साङ्लाजस्तै निर्मूल पार्न गाह्रो हुनेछ ।
(अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयका लेक्चरर फेबिन जोसेफ, म्यागी पल र रुस ग्याम्बलको आलेख)द कन्भर्सेसनबाट