देउवापक्षीय भेलामा राठौरले भने- मैले सदस्य अद्यावधिक गरेँ

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

दाङको लमहीमा कांग्रेसको शेरबहादुर देउवापक्षीय लुम्बिनी प्रदेशस्तरीय भेला भएको छ। मंगलबार भएको भेलामा पूर्वकेन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौरले आफूले पार्टीको सदस्यता अद्यावधिक गरिसकेको बताएका छन्। 

भेलाका प्रमुख अतिथिसमेत रहेका राठौरले अहिलेको अवस्थामा पार्टी निकै कमजोर बन्नुमा विशेष महाधिवेशनको भूमिका रहेको भए पनि आफूले सदस्यता भने अद्यावधिक गरिसकेको बताएका हुन् । भेलामा नेताहरूले भने सदस्यता अद्यावधिक गर्न नहुने तर्क राखेका छन्। 

त्यस्तै, पूर्वकेन्द्रीय सदस्य गेहेन्द्र गिरीले ठुलो त्याग र बलिदानबाट प्राप्त संविधान र राष्ट्रियताको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए। यदि कांग्रेसमा दुई धार रहेमा राष्ट्रियता खतरामा पर्नेसमेत उनको भनाइ थियो। पार्टीलाई एक ढिक्का बनाउनका लागि पनि सुझाव संकलन गर्न भेलाको आयोजना गरिएकोसमेत उनको भनाइ थियो। 

भेलामा निवर्तमान केन्द्रीय सदस्यहरू गुरु बराल, कुन्दनराज काफ्लेसहित लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री रोज राणालगायतका नेताहरूको समेत सहभागिता रहेको थियो। 
 

सुझावित समाचार