जन्तेढुंगा गाउँपालिका– ५, चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र बनेको छ । हरेक स्थानीय तहमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार निर्माण सुरु गरिएको १५ शय्याको आधारभूत अस्पताल भवन ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र बनेको हो ।
०७९ असार–२८ गतेभित्र निर्माणको काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी ठेकेदार कम्पनी ड्रागन–रियर जेभीले ०७८ असार २५ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । कुल रु. २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिएका छन् ।
निर्माणाधीन अवस्थामै अलपत्र बनेको आधारभूत अस्पताल भवनको दुईवटा ब्लकमध्ये एउटा मात्र ठडिँदै गरेकोमा त्यो पनि बिचैमा छाडिएको छ । अर्को ब्लक भवनका लागि जग मात्र उठाएर अलपत्र अवस्थामा छाडिएको पाइएको छ ।
अलपत्र अवस्थामा रहेको अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता गर्ने मुख्य ठेकेदार कम्पनीले सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा कामको जिम्मा दिएको पाइएको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि पाँचपटकसम्म म्याद थप गरिएको अस्पताल भवन निर्माणका लागि ठेकेदार कम्पनीले रु. ६ करोड ४९ लाख ६ हजार रकम भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ ।
दक्षिणी क्षेत्रका स्थानीयलाई लक्षित गरेर निर्माण सुरु गरिएको अस्पताल भवनका लागि पहिलोपटक ०८० असार २५ गतेसम्म, दोस्रोपटक ०८१ असार ३० गतेसम्म, तेस्रोपटक ०८२ असार १५ गतेसम्म, चौथोपटक ०८२ फागुन १५ गते र पाँचौँपटक ०८३ असार १४ गतेसम्मका लागि म्याद थप गरिएको थियो । पछिल्लोपटक थप गरिएको समयमा केही काम गरे पनि गत वैशाखदेखि निर्माणको काम पूर्ण रूपमा ठप्प रहेको स्थानीयले बताएका छन् ।
आधारभूत अस्पताल भवन समयमा निर्माण सम्पन्न नहुनुमा स्थानीय तथा प्रदेश र संघीय सरकारका जनप्रतिनिधिहरूको पनि दोष रहेको चिसापानी बजारका स्थानीय युवा सुमन राईले आरोप लगाएका छन् । ‘आफ्नो ठाउँमा हुने विकास निर्माणको काममा जनप्रतिनिधिको निगरानी हुनुपर्थ्याे । यहाँ कसैले चासो दिएको देखिँदैन, उनले भने, जनप्रतिनिधिले ठेकेदार कम्पनीलाई तत्काल काम नगराएको खण्डमा हामी सरोकारवाला निकाय चुप लागेर बस्दैनौँ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भइरहेको ढिलासुस्ती तथा लापरबाहीका घटनालाई सम्बन्धित निकायले वेलैमा गम्भीर भएर लिन जरुरी छ । अन्यथा चरणबद्ध आन्दोलन सुरु गर्छौँ ।’
अस्पताल भवन निर्माणका क्रममा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाएपछि गाउँपालिकाले निर्माण गरिएका संरचना भत्काउन लगाएको थियो । बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाएपछि गाउँ कार्यपालिकाको बैठक बसेर निर्माण गरिएका संरचना भत्काएर गुणस्तरीय काम गर्न लगाएको हो ।
निर्माणाधीन अस्पतालको जगमा पिसिसी ढलान गर्न ठेकेदारले खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका तत्कालीन असिस्टेन्ट सबइन्जिनियर सुरेशकुमार मेहताले बताएका थिए । निर्माण सुरु गरेकै दिनदेखि विवादमा रहेको आधारभूत अस्पताल भवन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधनका कारण एक वर्षपछि मात्र निर्माणको काम सुरु गरिएको हो ।
गाउँपालिकाले पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिएका छन् । ‘ठेकेदार कम्पनीलाई हामीले पटकपटक ताकेता गरिरहेका छौँ । पछिल्लोपटक थपिएको म्यादमा समेत काम सम्पन्न भएन,’ उनले भने, ‘अस्पताल भवन निर्माणका लागि गाउँपालिकाको तर्फबाट उपलब्ध गराइएको रकमसमेत ठेकेदार कम्पनीले भुक्तानी लान सकेन । अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारीमा छौँ ।’
चिसापानी बजारमा आधारभूत अस्पताल भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीनजिकै निर्माण सुरु गरिएको आधारभूत अस्पताल भवन ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र बनेपछि स्थानीय आक्रोशित बनेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र संरक्षणका लागि निर्माण सोही ठेकेदार कम्पनीले निर्माण गरेको पर्खाल पनि बांगिएको देखिएको छ । निर्माणस्थलभन्दा माथिबाट फालिएको माटो नपन्छाई ठेकेदार कम्पनीले बढी नाफा कमाउने दाउमा सोहीमाथि पर्खाल ठड्याएकाले बांगिएको स्थानीयवासीले आरोप लगाएका छन् ।
डिपिआर परिवर्तनमा समय लाग्नु, पर्याप्त बजेट नहुनु र फोक्सिङटारमा पुल नहुनुले आधारभूत अस्पताल भवन निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका ङ्वाङ डन्डुप लामाले बताएका छन् । गाउँपालिकाले पर्पाप्त बजेको व्यवस्था तथा प्राविधिक समस्या परेको अवस्थामा सहजीकरण गरेको खण्डमा चाँडै अस्पताल भवन निर्माणको काम सम्पन्न गर्न सकिने ठेकेदार कम्पनीले जनाएको छ ।