नेपाली कफीको उत्पादन, गुणस्तर र बजार प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा राष्ट्रिय नेपाली कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ।
‘चिनौँ, चाखौँ, अपनाऔँ र प्रवर्द्धन गरौँ’ नारासहित राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा तथा नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघको सहकार्यमा कार्यक्रम सञ्चालन हुन लागेको हो।
आगामी २० असारमा पोखरा–५, डुम्रीबोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयपरिसरमा कार्यक्रम सुरु हुनेछ। कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्रीको विशिष्ट आतिथ्यतामा हुने आयोजकले जनाएको छ।
नेपालमा कफी खेती र कफी संस्कृतिप्रतिको आकर्षण निरन्तर बढिरहेका वेला कफी क्षेत्रको सम्पूर्ण मूल्य शृंखलाबारे उत्पादकदेखि उपभोक्तासम्मलाई एउटै थलोबाट जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ।
बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीका अनुसार कार्यक्रममा देशभरका सातै प्रदेशबाट कफी उत्पादक किसान, व्यवसायी, सहकारी, प्रशोधनकर्ता, क्याफे सञ्चालक, सरोकारवाला तथा कफीप्रेमीको सहभागिता रहनेछ। पछिल्लो समय पोखरा नेपाली स्पेसियालिटी कफीको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै गएकाले यस कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद र पहिचानलाई राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख आकर्षणमा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपका विजेतालाई अवार्ड तथा सम्मान, कफी नर्सरी र बगैँचा अवलोकन, स्पेसियालिटी कफी ब्रुइङ प्रदर्शन, कफी बार उपकरण प्रदर्शनी, उत्कृष्ट नेपाली कफीको निःशुल्क सार्वजनिक कपिङ तथा स्वाद परीक्षण, कफी प्रशोधन पहिचान प्रतियोगिता, कफीसम्बन्धी मनोरञ्जनात्मक खेल तथा ‘बिउदेखि कपसम्म’को कफी मूल्य शृंखलाबारे अन्तर्क्रिया र विज्ञबाट प्राविधिक परामर्श रहनेछन्।
आयोजकले सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको जानकारी दिँदै कफी उत्पादक किसान, व्यवसायी, सहकारी, क्याफे सञ्चालक तथा कफीप्रेमी सबैलाई कार्यक्रममा सहभागी भई नेपाली कफीको प्रवर्द्धन अभियानलाई सशक्त बनाउन आग्रह गरेको छ।