खडेरीले चापाकल (नल्का) सुकेपछि खानेपानीको संकट देखिएको धनगढी उपमहानगरपालिका–१४, फूलबारी स्याउले बजारमा उपमहानगरले ‘डिप बोरिङ’ गाडेर खानेपानीको व्यवस्था गरेको छ। विद्युतबाट पानी तान्ने बोरिङ गाडेपछि स्थानीयलाई सहज भएको छ।
खानेपानीको संकट बढेपछि स्याउले बजारनजिक रहेको वन कार्यालयअगाडि ३२० फिट गहिरो बोरिङ गाडिएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिए। स्थानीयलाई खानेपानी प्रयोगमा सहज होस् भनेर डिप बोरिङ गाडिएको उनले बताए।
उक्त क्षेत्रमा नल्का सुकेपछि उपमहानगरले दमकल र सडक सफा गर्ने गाडीमा राखेर पानी वितरण गर्दै आएको थियो। खानेपानी संकट देखिएपछि केही दिनअघि बोरिङ गाड्न सुरु गरिएको थियो।