साहित्यिक संस्था अन्तर–विधाको छैटौँ बसाइ लेखक तथा पत्रकार हिक्मत डंगोलको उपन्यास ‘बदलिएको आकाश’को विमोचन, कृतिमाथिको समीक्षा तथा तीन सर्जकको अभिनन्दनसहित सम्पन्न भएको छ।
कार्यक्रममा साहित्यकार अञ्जु मैनाली, वरिष्ठ पत्रकार कपिल काफ्ले र साहित्यकार ओमशंकर श्रेष्ठले उपन्यासको विषयवस्तु, प्रवासी नेपालीको जीवन, सामाजिक यथार्थ र लेखकको दृष्टिकोणमाथि गहन समीक्षा गरेका थिए। अन्तरक्रियामा सहभागीहरूले उपन्यासका विविध पक्षबारे जिज्ञासा राखेका थिए।
लेखक डंगोलले उपन्यासमा आफ्ना केही अनुभवसँगै अन्य पात्रहरूको जीवन पनि समेटिएको बताए। उनले मूलतः दुःखान्त हुने कथालाई पाठकको संवेदनशीलतालाई ध्यानमा राख्दै सुखान्त बनाएको उल्लेख गरे। साथै, डायस्पोराका नेपालीको जीवनलाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको उनको भनाइ थियो।