भीमदत्तमा भलमन्सा–बडघर ऐन पारित

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारू समुदायको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर ऐन पारित गरेको छ। १९औँ नगरसभाबाट नगरपालिकाले ‘भलमन्सा तथा बडघर सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ पारित गरेको हो। भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीले थारू समुदायमा पुस्तौँदेखि चलिआएको परम्परागत नेतृत्व प्रणाली अब स्थानीय सरकारको कानुनी व्यवस्थाभित्र सञ्चालन हुने बताए।

मेयर बोगटीले कार्यविधि पारित भएसँगै भलमन्सा–बडघर प्रणालीलाई संरक्षण, प्रवर्द्धन र व्यवस्थित सञ्चालन गर्न कानुनी आधार तयार भएको बताउँदै राना थारू समुदायको स्थानीय संस्कृति, परम्परा र सामाजिक व्यवस्थापनको अभ्यासलाई सम्मान मिलेको बताए। यस निर्णयले बडघर–भलमन्सा प्रणालीलाई थप सम्मान र प्रभावकारी रूपमा सञ्चालन गर्न मार्ग प्रशस्त गरेको भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम चौधरी थारूले बताए।

यस्तै, थारू समुदायका अगुवा बेद चौधरीले नगरपालिकाको उक्त निर्णयको स्वागत गर्दै कार्यविधि कार्यान्वयनसँगै थारू समुदायको मौलिक परम्परा संरक्षण हुनुका साथै स्थानीय तह र समुदायबिचको समन्वय अझ मजबुत हुने विश्वास व्यक्त गरे। ‘कञ्चनपुरका केही पालिकाहरूमा यो कार्यविधि लागू भइसकेको अवस्था थियो। हाम्रो भीमदत्त नगरपालिकामा कार्यविधि बनेको थिएन,’ उनले भने, ‘स्थानीय सरकारबाट कानुनी मान्यता पाएपछि अब बडघर–भलमन्सासम्बन्धी कार्यसम्पादन गर्न थप सहज हुने विश्वास लिएको छु।’

कार्यविधिले बडघर तथा भलमन्साको छनोट, अधिकार, जिम्मेवारी, आचारसंहिता तथा सञ्चालन प्रक्रियालाई समेत व्यवस्थित गर्ने अपेक्षा गरिएको छ। भीमदत्त नगरकी उपप्रमुख निलक लेखकले स्थानीय तहबाट परम्परागत संस्थालाई कानुनी मान्यता दिने निर्णयले थारू समुदायको पहिचान जोगाउनुका साथै परम्परागत नेतृत्व प्रणालीलाई स्थानीय शासनसँग जोड्दै सामाजिक सद्भाव र विकासमा थप योगदान पुग्ने बताइन्। स्थानीय तह गठन भएको ९ वर्षमा ऐन पारित भएपछि थारू समुदाय उत्साहित भएका छन्।

सुझावित समाचार