सिराहाको गोलबजार नगरपालिका– ६ स्थित एक हार्डवेयर पसलबाट प्रहरीले मार्वल टेक्नो प्लास्ट कम्पनीको लोगो र ब्रान्ड दुरुपयोग गरी बिक्री-वितरण गरिरहेको प्लास्टिक पाइप बरामद गरेको छ।
मार्बल कम्पनीको लोगो र ब्रान्ड दुरुपयोग गरेर बोरवेल पाइप बिक्री-वितरण गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय निहाल आइरन स्टोरका संचालक करिब ४६ वर्षीय साविर खाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रहरी टोलीले नक्कली लोगो र ब्राण्डको दुरुपयोग गरिएको ११४ र ११० एमएमको ६३९ थान पाइप बरामद गरेको छ।
बरामद गरिएको पाइप मार्वल कम्पनीका आधिकारिक प्रतिनिधिले आफ्नो कम्पनीको उत्पादन नरहेको यकिन गरी सनाखत गरेपछि संचालक खाँसहित नक्कली पाइप नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कम्पनीका आधिकारिक डिस्ट्रीब्युटरले कम्पनीको नाम र ब्राण्ड दुरुपयोग गरी नक्कली पाइप बिक्री वितरण गरिरहेको उजुरी गरेपछि गोलबजार प्रहरीले आइरन स्टोरमा छापा मारेको जनाइएको छ। आइरन स्टोरका संचालक खाँ सिरहा नगरपालिका– २० लगडीगोठ स्थायी बासिन्दा हुन्। प्रहरीले बिक्री वितरणका लागि मधेश प्रदेश ०३–००१ ख ९८८० नम्बरको ट्रकमा लोड गरिएको र गोदाममा स्टकमा राखिएको पाइप बरामद गरेको हो।
तीन वर्षदेखि कीर्ते धन्दा
नेहाल आइरन स्टोरले करिब तीन वर्षदेखि कम्पनीको लोगो र नाम दुरुपयोग गरी नक्कली पाइप बिक्री गर्दै आएको मार्वल टेक्नो प्लाष्टका बजार प्रबन्धक सुदिप न्यौपानेले दबी गरे। उनका अनुसार बजार अनुगमनका क्रममा उपभोक्ताले आफूहरु मार्वल टेक्नो ब्राण्डकै पाइप प्रयोग गरिरहेको सुनाएपछि कम्पनीको बिक्री अभिलेखसँग तुलना गर्दा उक्त क्षेत्रमा कम्पनीबाट न्यून आपूर्ति भएको देखिएको थियो। ‘त्यसपछि अनुसन्धान गर्दा कम्पनीको नाम, लोगो र ब्राण्ड दुरुपयोग गरी नक्कली पाइप बिक्री भइरहेको तथ्य फेला परेको हो’ उनले भने।
उनका अनुसार यसअघि पटक पटक कम्पनीले सम्बन्धित व्यवसायीलाई त्यस्तो अवैध काम नगर्न मौखिक रुपले सचेत गराएको भए पनि अटेर गर्दै आएका थिए। उनका अनुसार नक्कली उत्पादनको बिक्रीले कम्पनीको प्रतिष्ठासँगै उपभोक्ताको विश्वास र सुरक्षामाथि समेत गम्भीर असर पुर्याएको छ।
नक्कली पाइपको बिक्री वितरणले सम्बन्धित निकायबाट बजार अनुगमन प्रणाली र प्रकृयामाथि पनि गम्भीर प्रश्न उठाएको व्यवसायीहरु बताउँछन्। बजार अनुगमन गर्ने सरकारी निकाय हुँदाहुँदै लामो समयसम्म मुख्य बजार क्षेत्रमै नक्कली सामान खुलेआम बिक्री वितरण गरी आम उपभोक्तामाथि भइरहेको ठगीको सन्दर्भमा सरकोकारवाला निकायको समेत मिलेमतो हुन सक्ने आशंका गरिएको छ।
उपभोक्तालाई गुणस्तरीय सामग्रीको लोगो र ब्राण्ड देखाएर नक्कली उत्पादन बिक्री गरी ठगी गरेको घटनामा संलग्न व्यक्तिमाथि सूक्ष्म छानबिन गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने उपभोक्ताहरुको माग छ।