प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे प्रतिनिधिसभामै स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई आफ्ना धारणा राख्न समय उपलब्ध गराएका थिए।
कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा उठ्नुपर्ने विषय पार्टीको महाधिवेशनमा व्यक्त गर्नुले संसदको गरिमा कमजोर भएको टिप्पणी गरिन्। उनले प्रधानमन्त्रीले सदनमै आएर आफ्नो अभिव्यक्ति स्पष्ट पार्नुपर्ने माग गरिन्।
एमालेका सांसद डा. पुष्पराज कँडेलले पनि सीमासम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए। साथै उनले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रहका आधारमा पक्राउ गरेको आरोप लगाए।
नेपाल कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने दिशामा काम गर्नुपर्ने धारणा राखे। उनले प्रदेश सभा खारेज गरी संघीयताको पुनर्संरचना गर्ने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति असहमति जनाए।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएकाले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याए।