नेपाली साहित्यका डेढ दर्जन स्रष्टाहरूका आफ्नै स्वरमा वाचन गरिएका रचनाका अंशहरू अब विश्वकै सबैभन्दा ठुलो पुस्तकालय, अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित लाइब्रेरी अफ कंग्रेसको स्थायी अभिलेखको हिस्सा बनेका छन् । दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजनाअन्तर्गत नेपाली, नेपाल भाषा र मैथिली भाषाका यी ध्वनि सामग्रीहरू हालै नयाँ डिजिटल स्वरूपमा सार्वजनिक गरिएका हुन्।
एक वर्ष लामो पुनर्संरचना तथा अनलाइन प्रस्तुतीकरण परियोजनापछि यी अभिलेखहरू विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताहरूका लागि सहज पहुँचमा ल्याइएको लाइब्रेरी अफ कंग्रेसले सूचना सार्वजनिक गरी जनाएको छ। यससँगै नेपाली भाषिक संसारका स्रष्टाहरूका स्वर अन्तर्राष्ट्रिय साहित्यिक सम्पदाको साझा स्मृतिभित्र सुरक्षित भएका छन्।
यसअघि सन् २००४ मा लाइब्रेरी अफ कंग्रेसले माधव घिमिरे, मोहन कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, बानिरा गिरी, भुवन ढुंगाना र दिनेश अधिकारीका आफ्नै स्वरमा वाचन गरिएका रचनाहरू संकलन गरेको थियो । अहिले सम्पन्न परियोजनाले त्यस परम्परालाई विस्तार गर्दै नयाँ पुस्ता र समकालीन स्रष्टाहरूका स्वरलाई पनि विश्व साहित्यिक अभिलेखमा स्थान दिएको छ।
नयाँ संग्रहमा अभि सुवेदी, अशेष मल्ल, कालीप्रसाद रिजाल, कृसु क्षेत्री, धीरेन्द्र प्रेमर्षि, नारायण ढकाल, प्रतिसरा सायमी, भुवनहरि सिग्देल, मनु मञ्जिल, माया ठकुरी, मोमिला, राजेन्द्र विमल, शारदा शर्मा, श्रवण मुकारुङ, सरुभक्त, र ज्ञानुवाकर पौडेललगायतका साहित्यकारहरूका आफ्नै स्वरमा वाचन गरिएका रचनाका अंशहरू समावेश छन्। यी अभिलेखहरूले केवल सिर्जनालाई मात्र नभई, स्रष्टाको उच्चारण, लय, भावप्रवाह र भाषिक संस्कृतिलाई समेत भावी पुस्ताका लागि सुरक्षित गरेको साहित्यकार कृसु क्षेत्रीले जानकारी दिए।
बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका २० भाषामा सिर्जना गर्ने एक सयभन्दा बढी प्रतिष्ठित लेखकहरूको सहभागिता रहेको एसएएलआरपी दक्षिण एसियाली साहित्यिक ध्वनि सम्पदाको एक विशिष्ट र महत्त्वपूर्ण परियोजना हो। उपन्यास, कथा, नाटक, कविता र निबन्धजस्ता विविध विधालाई समेट्ने यस संग्रहले क्षेत्र, भाषा, शैली र विषयवस्तुको बहुलतालाई एकै थलोमा अभिलेखित गरेको छ।
सन् २००२ मा प्रारम्भ गरिएको एसएएलआरपी वेबसाइटमा ध्वनि अभिलेखसँगै लेखकहरूका तस्बिर र संक्षिप्त जीवनीहरू पनि उपलब्ध छन्। यी सामग्रीहरू साउथ एसियन डिजिटल कलेक्सन मार्फत विश्वव्यापी अध्ययन र अनुसन्धानका लागि खुला गरिएका छन्।
यस नयाँ अनलाइन प्रस्तुतीकरणले नेपाली, नेपालभाषा र मैथिली साहित्यका सशक्त स्वरहरूलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने महत्त्वपूर्ण सेतु निर्माण गरेको साहित्यकार क्षेत्रीले बताए। यस अर्थमा एसएएलआरपी केवल ध्वनि अभिलेखहरूको संग्रह मात्र नभई बिसौँ र एक्काइसौँ शताब्दीको दक्षिण एसियाली साहित्यिक चेतना, सांस्कृतिक स्मृति र सिर्जनात्मक उत्तराधिकारको एक अनुपम दस्ताबेजका रूपमा स्थापित भएको छ।