दुई दशकभन्दा लामो समयदेखि मानव अधिकार तथा सामाजिक न्यायको अभियन्ताका रूपमा सक्रिय छन्, प्रदीप परियार । ‘दलित लाइभ्स म्याटर्स’ नेपालको निर्देशक रहेका उनी विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर्स २०२० अवार्ड’ बाट सम्मानित पनि भइसकेका छन् । हालै प्रकाशित पुस्तक ‘सियोधागो’को सन्दर्भमा परियारसँग पवन बराइलीले कुराकानी गरेका छन् :
पुस्तकको नाम ‘सियोधागो’ नै किन रोज्नुभयो ?
मलाई सबैभन्दा मनपर्ने शब्द ‘जिजीविषा’ हो । सुरुमा पुस्तकको नाम यही राख्ने सोच बनाएको थिएँ । तर, यही नाममा अर्को पुस्तक प्रकाशित भइसकेको रहेछ, त्यसैले त्यो सम्भव भएन । त्यसपछि नामबारे धेरै सोचविचार गरियो । अन्तिममा ‘सियोधागो’ राखियो । ‘सियोधागो’ रोजिनुमा मेरो आफ्नै जीवन भोगाइ पनि जोडिएको छ । म सानैदेखि सियोधागोको वातावरणमा हुर्किएँ । यो केवल एउटा वस्तु मात्र होइन, मेरो अनुभव र स्मृतिको पनि हिस्सा हो ।
सियोधागो कुनै एक समुदायको मात्र प्रतीक होइन । दलित समुदायभित्र पनि सार्की समुदायले जुत्ता सिउने काममा यसको प्रयोग गर्छन् भने परियार समुदायको जीवनसँग पनि यो घनिष्ठ रूपमा जोडिएको छ । तर, यसको अर्थ यतिमै सीमित छैन । नेपालका प्रायः सबै घरमा कुनै न कुनै रूपमा सियोधागो प्रयोग हुन्छ । यसले च्यातिएको कुरा जोड्छ, टुटेकोलाई मिलाउँछ । मलाई लाग्यो, समाज पनि यस्तै हो । फरक–फरक मानिस, समुदाय र अनुभवलाई जोडेर एउटा साझा बुनोट तयार हुन्छ । यही चिन्तन र प्रतीकात्मक अर्थबाट ‘सियोधागो’ शीर्षक जन्मिएको हो ।
यो पुस्तक तपाईं आफ्नै भोगाइ वरिपरि घुमेको देखिन्छ । अहिलेलाई आफ्नै भोगाइ मात्रै लेखौँ भन्ने किन लाग्यो?
कोरोना महामारीले संसारभर असुरक्षा, भय र अनिश्चितताको वातावरण सिर्जना गर्यो । मानवजीवनमा नयाँ सन्त्रास फैलियो । अब आउने ५०–१०० वर्षपछि हाम्रै मान्छेले हामीले गरेको कामबारे सुन्छन् कि सुन्दैनन्, बुझ्छन् कि बुझ्दैनन् होला भन्ने कुराले मनभित्र ठुलो घर गर्यो । भोलिको पुस्ताले हामीले भोगेका कथा सम्झिनेछन् कि छैनन् ? यस्तै कुरा मलाई गहिरोसँग महसुस भयो । त्यसपछि आफ्नै परिवारतर्फ फर्केर हेर्दा महसुस गरेँ कि हजुरबुबाभन्दा अघिल्लो पुस्ताबारे मलाई केही थाहा छैन । हजुरबुबाले मलाई भनेको कतिपय कुरा सम्झनामा त थिए, तर ती कुराको तथ्य खोज्दा खासै भेटिँदैनथ्यो । मलाई लाग्यो, मैले यदि हजुरबुबा, बुबाआमाबारे लेखिनँ भनेँ उहाँहरूको भोगाइ त्यत्तिकै मेटिँदै जानेछ । सँगसँगै उहाँहरूको समयमा दलित समुदायले के भोग्नुपर्यो भन्ने कुरा बिस्तारै मलाई बोध हुँदै गयो । यदि मैले लेखिनँ भने उहाँहरूको भोगाइ, अनुभव, संघर्ष र सम्झना पनि बिस्तारै हराएर जान्छ । त्यसैले, यो केवल मेरो परिवारको कथा मात्र होइन, एउटा समय, समाज र पुस्ताले भोगेको जीवनको दस्ताबेज पनि हो भन्ने लाग्यो । यिनै अनुभूति, चिन्ता र जिम्मेवारीबोधले मलाई यो पुस्तक लेख्न प्रेरित गर्यो । यो पुस्तक तपाईंको घरको कथा हो, तपाईंको आमा, बुबा र हजुरबुबाको कथा हो । यो दलित तथा सीमान्तकृत समुदायको कथा हो ।
बाल्यकालको कुन घटनाले तपाईंलाई भित्रैदेखि बदलिदियो ?
जतिवेला हाम्रो गाउँमा सडक थिएन, बिजुली पुगेको थिएन, त्यसवेला गोल्चे सार्की पुग्नुभएको थियो । उहाँ मेरो जीवनको प्रेरणादायी पात्रमध्ये एक हुनुहुन्छ । उहाँका पछिल्ला विचारसँग मेरो विमति पनि छ । तर, उहाँ हाम्रो घरमै बस्नुभयो । गाउँका सबैले उहाँलाई आदर्श व्यक्तिका रूपमा हेर्थे । त्या वेला एमालेका सेलिब्रिटी नेता हुनुहुन्थ्यो उहाँ । त्यतिवेला मैले पहिलोपटक दलित समुदायभित्र पनि समाजले सम्मान गर्ने, नेतृत्व गर्न सक्ने र प्रेरणा बन्न सक्ने व्यक्तित्व हुँदो रहेछ भन्ने अनुभूति गरेँ । मेरा मष्तिस्कले उहाँलाई पछ्याइरह्यो ।
स्कुल पढ्दाताका म ट्युसन पढ्न जान्थेँ । तर, म सधैँ ट्युसन कक्षाबाहिर बसेर पढ्न बाध्य हुन्थेँ । भित्र मेरा सबै साथी हुन्थे, शिक्षकले ढोकामा छेउमा बसेर पढाउनुहुन्थ्यो र म ढोकाबाहिर बसेर सुन्थेँ । पढाइमा म प्रायः प्रथम हुन्थेँ, शिक्षकले अन्य कुरामा राम्रो व्यवहार पनि गर्नुहुन्थ्यो । तर, मलाई कक्षाभित्र बस्न कहिल्यै दिइएन । एक दिन ठुलो पानी पर्यो । म सधैँझैँ बाहिरै बसेर पढिरहेको थिएँ । पानीले मेरा किताब–कापी सबै भिजाइदियो । त्यो वेला मैले सोचेको थिएँ– सायद आज सरले मलाई मानवीयताका आधारमा भए पनि भित्र बोलाउनुहुन्छ । तर, बोलाउनुभएन । त्यो क्षण मेरो बालमस्तिष्कमा गहिरो गरी गडेर बस्यो । मनभित्र एउटा अठोट जन्मियो– जीवनमा यस्ता विभेदका विरुद्ध उभिन्छु । त्यस दिनदेखि जात भन्ने कुरा खतरनाक रहेछ भन्ने महसुस गरेँ । त्यो घटना मेरो मस्तिष्कमा घुमेकोघुम्यै गर्यो । अहिलेसम्म पनि घुमिरहेको छ । त्यसैको प्रतिफल पनि हो ‘सियोधागो ।’
पुस्तकमा दलित समुदायको पीडा, विभेद र अन्यायका कथा लेख्नुभएको छ । नेपाली समाजले दलितको पीडालाई कथाको रूपमा त सुन्छ, तर जिम्मेवारीका रूपमा स्वीकार गरेको देखिन्न । किन ?
हामीले केही समयअघि ‘दलित लाइभ म्याटर्स’अन्तर्गत ‘कास्ट कन्भर्सेसन’ नामक टेलिभिजन सिरिज सञ्चालन गरेका थियौँ । त्यस क्रममा जेन–जी पुस्ताका ८४ जनासँग छलफल गरिएको थियो । ती संवादमा विशेषाधिकार (प्रिभिलेज) को विषयमा खुला बहस भयो । त्यो बहसमा केही युवाले दलित समुदायले भोग्दै आएको पीडालाई आफ्नो सामाजिक जिम्मेवारीका रूपमा स्वीकार गरेको पाइयो । तर, समग्र समाजले भने अझै यसलाई स्वीकार गरिसकेको छैन । यसको पछाडि दुई प्रमुख कारण छन् । पहिलो, दलित आन्दोलन जति सशक्त हुनुपर्ने हो, त्यति हुन सकेको छैन । दोस्रो, दलित समुदायलाई राज्यले गर्नुपर्ने लगानी पर्याप्त छैन । राज्यले समानता र सामाजिक न्यायका लागि अझ बढी प्रतिबद्धता र स्रोत परिचालन गर्नुपर्ने आवश्यकता छ । यो भ्रमलाई चिर्ने जिम्मेवारी मुख्यतः दलित आन्दोलनकै हो ।
जातीय विभेदलाई धेरैले अशिक्षा वा पुरानो सोचको परिणाम भन्छन् । तर, शिक्षित र सम्पन्न वर्गमै पनि विभेद कायम छ । जात व्यवस्थाको वास्तविक जड कहाँ लुकेको ठान्नुहुन्छ ?
यसको इतिहासतिर फर्किने हो भने जात व्यवस्था सयौँ–हजारौँ वर्षदेखि अभ्यास हुँदै आएको छ । लामो समयदेखि अभ्यास गरिएकाले मानिस त्यसमा अभ्यस्त छन् । त्यसले केवल व्यवहार मात्र होइन, मानिसको सोच, चेतना र अवचेतन मनसम्म प्रभाव पार्छ । त्यसैले, जात व्यवस्था केवल सामाजिक संरचना मात्र होइन, मानिसको मनभित्र गहिरोसँग जरा गाडेर बसेको मानसिकता पनि हो । धेरै मानिसले आफू विभेदपूर्ण व्यवहार गरिरहेको छु भन्ने पनि महसुस गर्दैनन् । त्यो व्यवहार उनीहरूबाट स्वाभाविक रूपमा बानीजस्तै प्रकट भइरहेको हुन्छ । एक अर्थमा जातीय विभेद समाजमा अभ्यस्त व्यवहार बनिसकेको छ ।
त्यसैले यसलाई तत्काल परिवर्तन गर्न सकिँदैन । राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि पनि काम हुनुपर्थ्यो । तर, राजनीतिक दलले त्यसलाई प्राथमिकता दिन सकेनन् । अर्कोतर्फ, दलित समुदायबाट उठ्नुपर्ने प्रतिरोधी आन्दोलन पनि बलियो बन्न सकेन । मानिसहरू लामो समयदेखि अभ्यस्त भएको सोचलाई बदल्न ठुलो सामाजिक धक्का आवश्यक पर्छ । समुदायले त्यो धक्का दिन सकिरहेको छैन ।
तपाईं युवा नेता पनि हुनुहुन्छ । दलित अधिकारको आन्दोलनलाई केवल दलित समुदायको मात्र मुद्दा होइन, समग्र समाजको मुद्दा हो भनेर कसरी बुझाउने ?
अहिलेको सबैभन्दा ठुलो आवश्यकता भनेकै यो दलित समुदायको मात्रै मुद्दा होइन, समग्र समाजको मुद्दाका रूपमा स्थापित गर्नु हो । समाजको एउटा ठुलो समुदायलाई पछाडि पारेर कुनै पनि देशले पूर्ण विकास गर्न सक्दैन भन्ने कुरा बुझाउन आवश्यक छ ।
दलित आफैँमा सिप, श्रम र सिर्जनाले भरिएको समुदाय हो । समाज सञ्चालनका लागि आवश्यक सिप र पेसाको विकासमा यस समुदायको ऐतिहासिक योगदान छ । तर, उचित सम्मान र अवसर नदिइँदा यो समुदायले अझै योगदान दिन सकेको छैन । दक्षिण एसियाको विकासको गतिलाई रोक्ने कारणमध्ये एउटा कारण यही सामाजिक विभेद पनि हो । यदि दलित समुदायको सिप, ज्ञान र योगदानलाई उचित सम्मान र अवसर दिइयो भने समाजको विकास अझ तीव्र गतिमा बढ्न सक्छ ।
अमेरिकामा गरिएको एक अध्ययनले एउटा महत्वपूर्ण कुरा देखाएको छ । अश्वेत समुदायको क्षमता र सम्भावनाको पूर्ण उपयोग हुन नसक्दा देशको आर्थिक वृद्धिमा समेत असर परेको थियो । हाम्रो सन्दर्भमा पनि यस्तै अध्ययनको आवश्यकता छ । दलित समुदायमा रहेको सिप, प्रतिभा र सम्भावनाको उचित उपयोग गर्न सकियो भने देशले विकासमा ठुलो फड्को मार्न सक्छ । तर, त्यसका लागि राज्यले दलित समुदायप्रति पर्याप्त लगानी गर्नुपर्छ ।
अर्को कुरा दलित तथा सीमान्तकृत समुदायलाई यो देश हाम्रो हो भन्ने लाग्छ । तर, राज्य हाम्रो हो भन्ने लाग्दैन । उदाहरण लागि केही समयअघि सिन्धुलीका श्रीकृष्ण विकको हिरासतभित्र हत्या भयो । त्यस घटनापछि राज्यले देखाउनुपर्ने संवेदनशीलता र जिम्मेवारी पर्याप्त देखिएन । त्यहाँ केवल एक दलित युवाको मृत्यु भएको थिएन, देशले एक सम्भावनाशील नागरिक गुमाएको थियो । यस्ता घटना देशका विभिन्न ठाउँमा बारम्बार दोहोरिइरहेका छन् । त्यसैले, दलित तथा सीमान्तकृत समुदायले राज्यलाई पूर्ण रूपमा आफ्नो ठान्ने वातावरण अझै बन्न सकेको छैन । जब कुनै समुदायले राज्यप्रति अपनत्व र विश्वास महसुस गर्न सक्दैन, तब उसले आफ्नो सम्पूर्ण क्षमता समाज र राष्ट्र निर्माणमा लगाउँदैन ।
समाजमा संवेदनशीलता हराउँदै गएको, दलितसहित सीमान्तकृत समुदायको पीडालाई सामान्यीकरण गरेर छोड्ने गरेको विचार सुनिन्छ । यसबारे तपाईंको धारणा के छ ?
समाजमा अरूको पीडाप्रति असंवेदनशील हुने र सामान्यीकरण गर्ने त छँदै छ, त्योभन्दा बढी अरूको पीडामा खुसी हुने प्रवृत्ति बढ्दै गएको देख्छु । यो प्रवृत्तिले समाजलाई सही दिशामा लैजाँदैन । गरिबी हटाउनेभन्दा पनि गरिबलाई नै हटाउने सोच विकसित भइरहेको देखिन्छ । गरिबी अन्त्य गर्ने नीति र कार्यक्रम ल्याउनुपर्ने वेला गरिबलाई नै सहरबाट विस्थापित गर्ने प्रवृत्ति बढेको छ । यस विषयमा राज्य सञ्चालन गर्नेहरू गम्भीर हुन आवश्यक छ । सामाजिक न्यायको दृष्टिले हेर्दा अहिलेको समाज अझै पनि धेरै हदसम्म अन्यायपूर्ण छ । यसले दलित, सीमान्तकृत र गरिब समुदायका लागि थप अप्ठ्यारो सिर्जना गरिरहेको छ । कतिपय अवस्थामा उनीहरूको बाँच्ने आधारसमेत खोसिरहेको छ । अब यस विषयमा बहस गर्नुपर्ने वेला आएको छ । यसमा मेरो सबैभन्दा ठुलो आशा युवा पुस्तामाथि छ । विशेषगरी नयाँ पुस्ताका युवाले सामाजिक असमानता र विशेषाधिकार (प्रिभिलेज) का विषयमा खुलेर छलफल गर्नुपर्छ । युवा पुस्ताले आफ्नो विशेषाधिकारबारे खुला संवाद गर्नुपर्छ, आफूलाई अझ मानवीय र संवेदनशील बनाउनुपर्छ । यदि सुकुमवासी बस्तीका कुनै बालबालिका विद्यालय जान पाइरहेका छैनन् भन त्यो समाजको चिन्ताको विषय हुनुपर्छ ।
तपाईंको पुस्तक पढ्दा परिवर्तन सम्भव छ भन्ने आशा पनि देखिन्छ । तपाईंलाई आशावादी समाजको कुन पक्षले बनाइराख्छ ?
विशेषगरी दलित समुदायका आमाहरूले न्यायका लागि गरिरहेको संघर्षले मलाई निरन्तर प्रेरित गर्छ । म बारम्बार अजित मिजारकी आमालाई सम्झन्छु । उहाँले विगत १० वर्षदेखि न्यायको प्रतीक्षा गरिरहनुभएको छ । १० वर्षसम्म आफ्नै छोराको शव शिक्षण अस्पतालमा रहँदा कुनै पनि दसैँ, तिहार वा अन्य चाडपर्व मनाउन सक्नुभएको छैन । हरेक दिन छोराको तस्बिर हेर्दै, आँसु झार्दै न्यायको प्रतीक्षा गरिरहनुभएको छ । त्यो पीडा कति गहिरो होला भन्ने कुरा कल्पना गर्न पनि गाह्रो छ ।
यस्तो अवस्थामा पनि उहाँले हार मान्नुभएको छैन । न्यायको आशा छोड्नुभएको छैन । उहाँजस्ता आमाको संघर्षले मलाई ऊर्जा दिन्छ । म सोच्ने गर्छु– जब उहाँहरू यति ठुलो पीडाबिच पनि संघर्ष गरिरहनुभएको छ । हामीजस्ता मानिसले किन साथ नदिने ? अजित मिजारको घटना एउटा प्रतिनिधि उदाहरण मात्र हो । जब म नवराज विकका आमासँग भेट्छु, अन्य पीडित परिवारसँग कुरा गर्छु, समुदायका मानिससँग बस्छु, तब मभित्र नयाँ ऊर्जा जाग्छ । उनीहरूको संघर्ष, साहस र परिवर्तनप्रतिको विश्वासले नै मलाई आशावादी बनाइराख्छ ।
धेरै मानिस भन्छन्, मैले दलितसँग बसेर खाएको छु, उनीहरूलाई घरमा बोलाएर खाना खुवाएको छु । त्यसैले, म जातीय विभेदविरोधी हुँ । ऐतिहासिक विभेदविरुद्ध के यति काम पर्याप्त छ र ?
त्यो व्यक्तिगत व्यवहार र छनोटको कुरा हो । दलित समुदायले कसैको घरमा खाना खान पाउनका लागि यत्रो संघर्ष गरेको होइन । दलित आन्दोलनको मूल विषय राज्यका सबै संरचनामा बराबरीको सहभागिता र अवसर हो । आज पनि राज्यका विभिन्न निकाय, राजनीतिक दल र निर्णय गर्ने तहमा केही सीमित समुदायको प्रतिनिधित्व दोहोरिइरहेको देखिन्छ । त्यो अवसर, सुविधा र पहुँच कहाँबाट आए ? त्यसका पछाडि कस्ता सामाजिक, आर्थिक वा ऐतिहासिक कारण छन् ? यसबारे गैरदलित युवाले आफ्नो विशेषाधिकार (प्रिभिलेज) बुझ्न आवश्यक छ । युवाले यही विषयमा प्रश्न उठाउनुपर्छ । कुनै राजनीतिक दलको सचिवालय वा नेतृत्व तहमा एउटै समुदायको मात्रै वर्चस्व किन हुन्छ ? राज्य सञ्चालनमा नेपालको सामाजिक विविधता किन झल्किँदैन ? जबसम्म राज्यका संरचनामा समाजको वास्तविक विविधता प्रतिबिम्बित हुँदैन, तबसम्म समानताको लक्ष्य पूरा हुन सक्दैन । त्यसैले, युवाहरूले यी विषयमा खुलेर बहस गर्नुपर्छ, प्रश्न गर्नुपर्छ र परिवर्तनका लागि दबाब सिर्जना गर्नुपर्छ ।