नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्। उनले पार्टीलाई तल्लो तहदेखि केन्द्रसम्म निर्वाचित नेतृत्वको आधारमा पुनर्गठन गर्दै विगतका रणनीतिक कमजोरी सच्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
शुक्रबार विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब नेतृत्व चयन प्रक्रियामा आफूले कसैलाई जिताउन वा हराउन हस्तक्षेप नगर्ने स्पष्ट पारे। उनले आगामी महाधिवेशनबाट पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउने तयारी गर्न कार्यकर्तालाई आग्रह गरे।
आफ्नो राजनीतिक जीवनमा अझै एउटा निर्णायक ‘क्रमभंग’ बाँकी रहेको उल्लेख गर्दै उनले राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको बताए। उनले देशलाई समाजवादी आन्दोलनको दिशामा अघि बढाउन फेरि एकपटक नयाँ राजनीतिक पहल गर्ने संकेत गरे।
प्रचण्डले नेकपा कुनै बाह्य प्रभाव वा आर्थिक सहयोगका आधारमा नभई आफ्नै कार्यकर्ताको त्याग, रगत र पसिनाले निर्माण भएको पार्टी भएको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति टिप्पणी गर्दै उनले छोटो समयमै त्यसको वास्तविक चरित्र सार्वजनिक भएको दाबी गरे।
राजनीतिक सहकार्यबारे बोल्दै उनले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको सम्भावना नरहे पनि संसद्, सडक र आगामी निर्वाचनमा सहकार्य हुन सक्ने बताए। समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छिट्टै एकता प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै उनले मुद्दाका आधारमा नेपाली कांग्रेस र मधेशवादी दलहरूसँग पनि सहकार्य गर्न सकिने धारणा राखे।
यसैबिच, प्रचण्ड र नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरस्थित कोइरालानिवासमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। करिब ४५ मिनेटसम्म चलेको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को भूमिका, प्रमुख दलहरूबिचको सहकार्य, नेपाली कांग्रेसको पछिल्लो अवस्था तथा राष्ट्रिय सरोकारका विषयमा छलफल भएको जनाइएको छ।