लगातार पाचौँ दिन पनि सेयर बजारमा गिरावट आएको छ। शुक्रबार नेप्से परिसूचक २ अंकले घटेर दुई हजार ६४९.५१ विन्दुमा कायम भएको हो। यसअघि सोमबार १.४६ अंकले घटेको नेप्से मंगलबार, बुधबार र बिहीबार क्रमशः २६, १४ र ८ अंकभन्दा धेरैले घटेको थियो।
आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। ७७ लाख २७ हजार कित्ता सेयर तीन अर्ब ९४ करोड ५८ लाख रुपैयाँमा खरिद–बिक्री भएको हो। बिहीबार कारोबार रकम तीन अर्बबाट तल झरेको थियो।
नेप्सेका १३ समूहमध्ये पाँच समूहको सूचक बढ्दा आठ समूहको सूचक घटेका छन्। व्यापार समूह १.०८ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन, जलविद्युत्, म्युचल फन्ड र निर्जीवन बिमा समूह एक प्रतिशतभन्दा कमले बढेका छन्। घटेका समूहको गिरावट पनि एक प्रतिशतभन्दा कम छ।
बजार घटेको दिन आज स्नो रिभर्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। टक्सार पिखुवा खोला र याम्बलिङ १४.९८ प्रतिशत तथा एनएमबी डिबेन्चर १०.८१ प्रतिशत उकालो लागेका छन्।
सर्वाधिक गुमाउने सूचीको शीर्ष स्थानमा कालिका लघुवित्त र सप्तकोशी विकास बैंक छन्। यी कम्पनी क्रमशः १० र ९ प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।