संघीय संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। दिउँसो १ बजे बस्ने बैठकमा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन पेस गर्नुका साथै विभिन्न संशोधन विधेयकहरू सदनमा प्रस्तुत गरिनेछन्।
कार्यसूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट ‘महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछिन्। साथै, उनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै विधेयक सदनमा दर्ता गराउने कार्यक्रम रहेको छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् भने भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा पेस गर्नेछिन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै, बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरूलाई अन्तिम रूप दिने क्रममा अर्थमन्त्री वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ माथिका संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्दै पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।
