दर्ता नगरी सञ्चालन गरेको आरोपमा १५ शैक्षिक परामर्शदर्ता संस्था (कन्सल्टेन्सी)का १८ सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। शिक्षा मन्त्रालयको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो तीन दिनमा १८ जनालाई पक्राउ गरेको हो।
काठमाडौंमा १६ जना तथा ललितपुर र भक्तपुरमा २–२ जनालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) रामेश्वर कार्कीले बताए।
‘मन्त्रिपरिषद्बाट भएको निर्णयका आधारमा उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने । केही कन्सल्टेन्सीका सञ्चालक भने फरार भएका छन्।
पक्राउ पर्नेहरूमा मित्रपार्कस्थित गुरुबा इन्टरनेसलनका सञ्चालकहरू विजय अधिकारी, विनय अधिकारी र कृष्ण बुढाथोकी, चाबहिलस्थित लेक्सिकर्न एजुकेसन नेटवर्कका सञ्चालक दीपेन्द्र सुवेदी, पास्कल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सुशीलप्रसाद कुशवाह छन् ।
त्यस्तै, चाबहिल क्षेत्रमा सञ्चालित मेगाटेक भ्याली एजुकेसनका सञ्चालक सन्तोष सिलवाल खत्री, भिक्ट्री एजुकेसनका सञ्चालक कृष्ण शाह र दीपक बाँस्तोला, २४ आवर एजुकेसन कन्सल्टेन्सीका सञ्चालक नवीन लम्साल, युनिभर्सिटी गेटवेका सञ्चालक सन्दीप त्रिपाठी र मुना बिष्ट, एपिटोमी एजुकेसन हेल्पलाइनका सञ्चालक सञ्जय लामा छन् ।
न्यु प्लाजामा रहेको स्किल प्वाइन्ट एजुकेसन कन्सल्टेन्सीका सञ्चालक प्रवीण बराल र झमक सुवेदी, पुतलीसडकस्थित ड्रिम एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सुदीप न्यौपाने, बागबजारस्थित भाइब्रेन्ट एजुकेसन सर्भिसका डेविड खड्की पनि पक्राउ परेका छन्।
ललितपुरको कुमारीपाटीस्थित उरेसी एजुकेसन एन्ड ट्रेनिङ सेन्टरकी मीना गुरुङ, ब्लुम एब्रोड कन्सल्टेन्सीका सञ्चालक दीपक महर्जन, भक्तपुरको ठिमीस्थित ग्रिनर एजुकेसन कन्सलटेन्सीका पीताम्बर सापकोटा र सूर्यविनायकस्थित ग्लोबल इम्प्याक्ट एजुकेसनका सञ्चालक सुरज चक्रधर पनि पक्राउ परेका हुन्। पक्राउ परेकालाई शिक्षा ऐनअनुसार कारबाही गर्न लागिएको छ।
एक महिनाअघि पनि प्रहरीले दर्ता नगरी कन्सल्टेन्सी चलाउने ६८ जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये २७ जनाविरुद्ध मुद्दा दायर भएको थियो। शिक्षा मन्त्रालयकै निर्देशनमा प्रहरीले यस्तो कारबाही चलाएको हो।
शैक्षिक परामर्शदाता संस्थाहरूले भने यस्तो कारबाहीप्रति असहमति जनाउँदै आएका छन्। दर्ता प्रक्रियामा रहेकालाई समेत यसरी पक्राउ गरेर कारबाही गर्न नमिल्ने उनीहरूको तर्क छ।