सुदूरपश्चिम विश्वविद्यालयबाट एकैपटक करिब २५ सय विद्यार्थी दीक्षित हुने भएका छन्। शुक्रबार महेन्द्रनगरमा तय भएको छैटौँ दीक्षान्त समारोहमा दुई हजार ४८९ विद्यार्थी दीक्षित हुन लागेका हुन्।
विश्वविद्यालय केन्द्रीय कार्यालयपरिसरमा हुने समारोहका भौतिक रूपमा भने ७६७ विद्यार्थी मात्रै सहभागी हुने बताइएको छ। सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले विभिन्न ६ संकायका विद्यार्थी एकैपटक दीक्षित हुन लागेकाे बताइन्। उनका अनुसार स्नातक, स्नाकोत्तर, एमफिलदेखि पिएचडीसम्मका विद्यार्थी दीक्षित हुन लागेका हुन्।
मानविकी संकायका १८२, व्यवस्थापनका २३९, शिक्षाका २४२, विज्ञान प्रविधिका १८, इन्जिनियरिङका ५३ र कृषि विज्ञान संकायका ३३ विद्यार्थी भौतिक रूपमा सहभागी हुनेछन्। यसपटक चान्सलर, भाइस चान्सलर, स्वर्ण पदकदेखि डिन्सतर्फ समेत पदक पाउने विद्यार्थी छन्।
परीक्षा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चान्सलरतर्फ व्यवस्थापन संकायका निशान्त चन्द, भाइस चान्सलरतर्फ कृषि विज्ञानका कैलाशराज भट्टले पदक पाउनेछन्। चान्सलर पदकमा छात्रा रेखा जोशीले उच्च अदालतमा रिट दायर गरेपछि चान्सलर पदक भने अहिलेका लागि स्थगित भएको परीक्षा नियन्त्रक रोकायाले बताइन्।
स्वर्ण पदकतर्फ ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेमबहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजिन बोहरा, कैलाशराज भट्ट र डिन्स पदकतर्फ मथुराप्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी र भरत साउदले पाउनेछन्। यसपटक चार विद्यार्थीले पहिलोपटक डिन्स पदक पाउन लागेका हुन्।