जनकपुरधामको मनिपालस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौरमा ५२ सिट क्षमताका दुई विद्युतीय बस साढे चार वर्षदेखि अलपत्र छन् । प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय, कृषि निर्देशनालय र कृषि तालिम केन्द्रलाई पनि एक–एकवटा बस बाँडेकोमा यसरी नै खुला आकाशमुनि थन्क्याएका छन् ।
प्रदेश राजधानी जनकपुरधामदेखि पश्चिममा पर्सा र पूर्वमा सप्तरीसम्मको रुटमा चलाउन भन्दै ०७६/७७ मा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको पालामा तीन करोड ५० लाख बजेट तोकेर ग्लोबल टेन्डरमार्फत ती बस किनिएको थियो । २८ कात्तिक ०७७ मा बस किनिए पनि सञ्चालन कार्यविधि नहुँदा एक वर्षसम्म थन्किए । पछि थप आर्थिक भार पर्ने भन्दै सरकार बस नचलाउने निर्णयमा पुग्यो ।
सोनल पदमुक्त भएपछि २६ जेठ ०७८ मा रामसरोज यादव भौतिक पूर्वाधार विकासमन्त्री बने । उनले पनि बस सञ्चालनमा खासै चासो देखाएनन् । छिमेकी मुलुक भारतको बिहार राज्यमा समेत सरकारीस्तरबाट बस सञ्चालन गर्ने मोडेल असफल भइसकेको र चालक, इन्धन तथा मर्मत सम्भारका कारण प्रदेश सरकारलाई थप आर्थिक भार पर्ने भन्दै भौतिक मन्त्रालयका तत्कालीन सचिव दीपक दासले सुझाव दिएपछि मन्त्री यादवले बस अन्य संस्थामा बाँड्ने निर्णय गरे ।
मन्त्रिपरिषद्को २४ फागुन ०७८ निर्णयबमोजिम ती बस चारवटा निकायलाई हस्तान्तरण गरिएको थियो । दुईवटा बस पाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो प्रयोजनका लागि उपयुक्त नभएको भन्दै फिर्ता लिन मन्त्रालयलाई परिपत्र नै गरिसकेको छ । प्रतिष्ठानका रेक्टर डा। रामनरेश पण्डितले भने, ‘यी बस ठुला भए, हामीलाई साना चाहिएको हो ।’