ग्रिनेड विस्फोट हुँदा सैनिक हुद्दाको मृत्यु

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ। कैलालीको चिसापानीस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरांगे ब्यारेकले सञ्चालन गरेको तालिम अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको हो।

विस्फोटमा परी गम्भीर घाइते भएका विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। ग्रिनेड पड्काउने क्रममा घटना हुँदा विस्फोटबाट विष्टको दायाँ हातको हत्केला र शरीरका विभिन्न भागमा छर्रा लागेको थियो।

घटनामा सहसेनानी हिमराज जोशी घाइते भएका छन्। ग्रिनेडको छर्रा लागेर घाइते भएका जोशीलाई थप उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौं लगिएको छ। ब्यारेकनजिक मोहन्याल गाउँपालिका– ७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा गरिएको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको बुझिएको प्रहरी नायब उपरीक्षक तिमिल्निाले जानकारी दिए ।
       
 

सुझावित समाचार