उदयपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ६४ करोड ७७ लाख १९ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ ।
बुधबार सम्पन्न गाउँपालिकाको २१औँ गाउँसभामा प्रस्तुत बजेटअनुसार चालूतर्फ ४४ करोड ८७ लाख ६३ हजार रुपैयाँ तथा पुँजीगततर्फ १९ करोड ८९ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए ।
उनका अनुसार गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने, ग्रामीण सडक तथा अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने, साथै कृषकको उत्पादन वृद्धि र आयआर्जनमा टेवा पुग्ने कार्यक्रमहरू बजेटमा समेटिएका छन् ।
गाउँसभाबाट पारित बजेटले गाउँपालिकाको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई गति दिने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । बजेटका कार्यक्रम तथा क्षेत्रगत विनियोजनका विस्तृत विवरण भने आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ ।