मास्के र लामिछाने ‘एससिएसएमएफ स्पोर्टस् अवार्ड’बाट सम्मानित

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका दुई खेलाडीलाई ‘एससिएसएमएफ स्पोर्टस् अवार्ड २०२६’ प्रदान गरिएको छ । शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन (एससिएसएमएफ)ले नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र क्रिकेटर सन्दीप लामिछानेलाई सम्मान गरेको हो । खेलकुदमा पुरानो र नयाँ पुस्ताको योगदानलाई कदर गर्ने उद्देश्यले मास्के र लामिछानेलाई सम्मान गरिएको बताइएको छ । 

मास्केले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । सक्रिय खेलजीवनपछि पनि बक्सिङ खेलको प्रवर्द्धन र विकासमा उनले निरन्तर योगदान पुर्याउँदै आएका छन् । 

यस्तै, लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले हालै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । पुरस्कारस्वरूप दुवैलाई जनही २ लाख ५० हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । 

सुझावित समाचार