बुटवल उपमहानगरद्वारा तीन अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि कुल तीन अर्ब ९९ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार नगरसभामा कुल ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँको आय-व्यय अनुमानसहितको बजेट प्रस्तुत गरेकी हुन्।

बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख रुपैयाँ, ससर्त अनुदान (चालू)तर्फ ५० करोड २५ लाख, ससर्त अनुदान (पुँजीगत)तर्फ ७ करोड ४ लाख, विशेष अनुदान (पुँजीगत)तर्फ ९० लाख र समपूरक अनुदान (पुँजीगत)तर्फ २० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।

यस्तै, प्रदेश सरकारबाट समानीकरण अनुदानबापत २ करोड ३ लाख ६५ हजार रुपैयाँ, ससर्त अनुदान (चालू)तर्फ ५६ लाख ५० हजार, ससर्त अनुदान (पुँजीगत)तर्फ १ करोड ७३ लाख, समपूरक अनुदान (पुँजीगत)बापत १ करोड ५० लाख र विशेष अनुदान (पुँजीगत)बापत २० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय संकलन गर्ने लक्ष्य राखिएको छ। यसबाहेक स्थानीय राजस्व बाँडफाँटअन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहत्तर बहत्तरको बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय प्राप्त हुने तथा गत आर्थिक वर्षको बचत (अल्या) ४० करोड गरी कुल स्रोत ३ अर्ब ८५ करोड रहने अनुमान गरिएको छ।

‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने नारासहित ल्याइएको बजेटमा कुल खर्चमध्ये चालूतर्फ ५२ प्रतिशत र पुँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमानअनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ।

सुझावित समाचार