वीरगन्ज महानगरको बजेट चार अर्ब ४२ करोड

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

वीरगन्ज महानगरले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि बुधबार बजेट ल्याएको छ। नगर सभागृहमा महानगरपालिकाले चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो।

कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि अनुमानित आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।

वीरगन्ज महानगरपालिकाको नगरसभाको २०औँ अधिवेशनमा महानगरले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा झन्डै एक अर्ब १९ करोडभन्दा बढीको बजेट ल्याएको छ। चालू आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याइएको थियो।

महानगरले चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार (५४.३ प्रतिशत), पुँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार (४४.६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ पाँच करोड (१.१ प्रतिशत) विनियोजन गरेको छ।

बजेटको अनुमानित खर्च व्यहोर्ने स्रोतहरूमा संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजस्वबाट एक अर्ब ४८ करोड, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्कबापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ। 

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्य सेवा, महानगरको सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको कानुले बताए।

त्यसअघि नगरसभामा कार्यवाहक नगरप्रमुख आलमले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आलमकै अध्यक्षतामा भएको नगरसभाको २०औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगरकार्यपालिका सदस्य, ३२ वटै वडाका वडाध्यक्ष, वडासदस्य, महानगरपालिका कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो।

सुझावित समाचार