संखुवासभाको खाँदबारी नगरपालिका ११ नम्बर वडा कार्यालयले व्यावसायिक कृषि प्रवद्र्धनका लागि प्लाष्टिक टनेल वितरण गरेको छ। मंगलबार वडा कार्यालयले वडाभित्रका ८५ जना कृषकहरुलाई प्लाष्टिक टनेल वितरण गरेको हो।
कृषकको ५० प्रतिशत लागत साझेदारीमा मागका आधारमा टनेल वितरण गरिएको वडाध्यक्ष अनिल राईले बताए। वडाले वितरण गरेको प्लास्टिक टनेल सही ठाउँ सदुपयोग गर्न आग्रह गर्दै उनले कुनैपनि बेला वडाबाट अनुगमन हुने प्रस्ट पारे।
वडाध्यक्ष राईका अनुसार वडाले आर्थिक बर्ष २०८२/८३ मा ३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो। ५० प्रतिशत लागत साझेदारीमा कुल ६ लाख रुपैयाँबराबरको प्लाष्टिक टनेल वितरण गरिएको हो। कृषकहरुले प्रतिब्यक्ति ३ हजार ६ सय रुपैयाँ नगद बुझाएका थिए। प्रति टनेलको ७ हजार रुपैयाँ मूल्य परेको भए पनि ढुवानी जोडेर कृषकहरुसँग थप एक सय रुपैयाँ लिइएको छ।
खाँदबारी नगरपालिकाको ११ नम्बर वडा तरकारी उत्पादनका हिसाबले अगाडी छ। यहाँ व्यावसायिक तरकारी खेती, बेमौसमी तरकारी खेती विस्तार र प्रवद्र्धनका लागि वडा कार्यालयले सहयोग गर्दै आएको छ। स्थानीय कृषक उत्तरकुमार गुरुङले प्लाष्टिक टनेल पाएपछि तरकारी खेती विस्तारको लागि सहयोग पुग्ने बताए। घाम, पानी र झरी बादल नभनी तरकारी खेती उत्पादन गर्न प्लाष्टिक टनेलमा सहज हुने उनको भनाइ छ।