विश्वकपको पहिलो खेलमा कमजोर प्रदर्शनपछि आलोचना सामना गरेको पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले एसियाली राष्ट्र उज्वेकिस्तानविरुद्ध फरक रणनीतिका साथ प्रस्तुत हुने योजनामा छन् । पोर्चुगलले नकआउट चरण स्थानको आशा बलियो बनाउन उज्वेकिस्तानविरुद्ध उत्कृष्ट खेल्नुपर्छ । कंगोसँगको जस्तै खेल दोहोरिए पोर्चुगलको अगाडि बढ्ने सम्भावना कमजोर बन्न सक्छ ।
विश्वकपकै नवप्रवेशी उज्वेकिस्तानले आफ्नो पहिलो खेलमा कोलम्बियासँग राम्रो खेले पनि अन्तिम समयमा चुकेको थियो । होस्टनको एआरजी मैदानमा मंगलबार राति हुने खेलमा दुवै टोली जितका लागि प्रयास गर्नेछन् । स्वाभाविक रूपमा पोर्चुगल उज्वेकिस्तानविरुद्ध बलियो देखिन्छ । पोर्चुगल फिफा वरीयतामा पाँचौँ तथा उज्वेकिस्तान ५०औँ स्थानमा छ । उज्वेकिस्तानले पोर्चुगलविरुद्ध बल पोसेसन राख्नेभन्दा पनि अट्याकिङ खेलमा केन्द्रित हुनेछ ।
उज्वेकिस्तान कोलम्बियासँग अन्तिम समयमा चुक्दा ३–१ ले खेल गुमाएको थियो । पहिलो खेलमा कंगोविरुद्ध पोर्चुगलले ७८३ पास खेले पनि फाइनल थर्डमा चुकेको थियो । उसले कंगोको पोस्टमा सातपटक पोस्ट चार्ज गरेको थियो । तर, जोआओ नेभेसले मात्रै एक सट टार्गेटमा राखेका थिए । रोनाल्डोसहित ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भा, भिटिन्हा, जोआओ नेभेसजस्ता खेलाडीले गोल गर्न सकेनन् ।
उज्वेकिस्तानका प्रशिक्षक फाबिओ कन्नाभारो पोर्चुगलविरुद्ध दबाबमा नहुने बताएका थिए । ‘हामी पनि एसियनकै बलियो टिम हौँ । पोर्चुगलविरुद्ध दबाब नलिएर राम्रो खेल्छौँ,’ उनले भने ।
प्लेयर्स टु वाच
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
चालू विश्वकपमा धेरै आलोचनक बनेका फुटबलर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हुन् । ५२ वर्षपछि विश्वकपमा स्थान बनाएको कंगोविरुद्ध पोर्चुगलले १–१ बराबरी नतिजा निकाल्यो । सो खेलमा कप्तान रोनाल्डो चल्न नसक्दा पोर्चुगलले अंक बाँडेको भन्ने टिप्पणी गरिएको थियो । छैटौँपटक विश्वकप खेलिरहेका रोनाल्डो पहिलो खेलमा फाइनल थर्डमा चुकेका थिए । कंगोका डिफेन्डरबिच घेरिएर बसेका रोनाल्डो चल्न सकेनन् । विश्वकपकै अर्को नवप्रवेशी राष्ट्र उज्वेकिस्तानविरुद्धको खेलमा सबैको ध्यान रोनाल्डोमाथि नै हुनेछ ।
अब्दुकोदिर खुसानोभ (उज्वेकिस्तान)
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट खेलिरहेका खुसानोभ उज्वेकिस्तान फुटबलले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट डिफेन्डर हुन् । २२ वर्षीय खुसानोभबाट खेल्दा सिटीबाट उपाधि समेत जितिसकेका छन् । उनको मुख्य योजना नै विपक्षी कप्तान रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भाको अट्याकलाई निस्तेज पार्नु हो । पहिलो खेलमा कोलम्बियाविरुद्ध उनी त्यति प्रभावशाली देखिएनन् । एउटा खराब ट्याकलका कारण उनले पहिलो कार्डको सामना पनि गरे । पोर्चुगलविरुद्ध उनी कार्डबाट भने सचेत रहनुपर्ने हुन्छ ।