गाउँसभाकै दिन गुठीचौरका अध्यक्ष पदमुक्त

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा गाउँसभाकै दिन पदमुक्त भएका छन् । दोस्रो स्थानीय तहको निर्वाचन ०७९ मा नेपाली कांग्रेसबाट गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका बुढा पदमुक्त भएका हुन् । 

असार ९ गते निर्वाचन आयोगले अध्यक्ष बुढाले दल त्यागेको र पद रिक्त भएको सूचना सार्वजनिक गरेसँगै उनी पदमुक्त भएका हुन् ।अध्यक्ष बुढा केही समयअघि राष्ट्रिय  स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । रास्वापा प्रवेशपछि नेपाली कांग्रेस जिल्ला समितिले कारबाहीको सिफारिस गरेको थियो । कारबाही सिफारिस भएपछि कांग्रेस केन्द्रीय समितिले अध्यक्ष बुढाले दल त्याग गरेको र रास्वापा प्रवेश गरेको निर्णय निर्वाचन आयोगमा बुझायो । 

निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोराको जानकारी प्राप्त भएपछि आयोगको मिति ०८३/३/८ गतेको निर्णयअनुसार गुठीचौरका अध्यक्ष बुढाको पद स्वतः रिक्त भएको हो जनाएको छ ।

०७९ को निर्वाचनमा कांग्रेसबाट चुनाव जितेका बुढाले एक वर्ष कार्यकाल बाँकी हुँदै रास्वपा प्रवेश गरेपछि जुम्ला कांग्रेसले कारबाहीका लागि सिफारिस गरेको छ । कांग्रेस पार्टीले नभई गुठीचौरका जनताले भोट दिएर जिताएको भन्दै पद फाल्न चुनौती दिएका थिए ।

कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी आयोगमा जानकारी गराएको थियो।  सोहीअनुसार अध्यक्ष बुढासँगै नेपाली कांग्रेसबाट निर्वाचित अन्य दुई जनप्रतिनिधिको पद पनि रिक्त भएको छ ।

जसमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका– ३ का वडाध्यक्ष विष्णु ढकालको पनि पद खारेज भएको छ ।

सुझावित समाचार