समस्याग्रस्त सहकारीका ८२ बचतकर्तालाई रकम फिर्ता

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र आइडियल यमुना बचत तथा ऋण सहकारीका ८२ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ।

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना र आइडियल यमुना सहकारीका १२ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट बचतकर्तालाई रकम फिर्ता गरिएको स्पष्ट पारेको छ।

हालसम्म लालीगुराँस सहकारीका ३०८ जना बचतकर्तालाई रकम फिर्ता गरिसकिएको समितिले जनाएको छ। पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिइएको र क्रमशः बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने बताइएको छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना र पाँच लाखभन्दा बढी बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ।

समितिले कुल बचतकर्तामध्ये करिब १८ हजार जनाको पाँच लाख रुपैयाँभन्दा बढी बचत रहेको जानकारी दिएको छ। साथै, समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा कानुनी व्यवस्थाअनुसार बचत फिर्ता प्रक्रिया निरन्तर जारी रहने जनाएको छ।

सुझावित समाचार