लुम्बिनी प्रदेशमा नसर्ने रोगको जोखिम बढ्दो

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा नसर्ने रोगको जोखिम बढेसँगै जनस्वास्थ्यका लागि चुनौती थपिँदै गएको छ। आर्थिक वर्ष ०८२/८३ मा सञ्चालन गरिएको नसर्ने रोग स्क्रिनिङ कार्यक्रमअन्तर्गत हालसम्म ४ लाख ६६ हजार १९७ जनाको परीक्षण गर्दा उच्च रक्तचाप, मधुमेह, तथा मिर्गौलासम्बन्धी समस्या भएकाहरूको संख्या बढ्दै गएको पाइएको हो।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले रूपन्देहीको तिलोत्तमामा गरेको ‘स्वस्थ गाउँ–सहर तथा स्वास्थ्य प्रवर्द्धनका लागि पैरवी कार्यक्रम’मा प्रस्तुत तथ्यांकअनुसार परीक्षण गरिएकामध्ये ४८ प्रतिशत व्यक्ति बढी तौल वा मोटोपनाबाट प्रभावित छन्। स्वास्थ्यकर्मीहरूले यसलाई प्रदेशको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा औँल्याएका छन्।

कार्यक्रममा सहजीकरण गर्दै सैनामैना नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपक पाण्डेले नसर्ने रोग नियन्त्रणका लागि स्वस्थ जीवनशैली, नियमित व्यायाम र सन्तुलित खानपान आवश्यक रहेको बताए।

उनले स्वास्थ्य अवस्था निर्धारण गर्ने अधिकांश कारक अस्पतालबाहिरका सामाजिक तथा व्यवहारजन्य पक्षसँग सम्बन्धित रहेको भन्दै स्वास्थ्य सचेतनामा विशेष ख्याल गर्नुपर्ने बताए। तिलोत्तमा–१३ का वडाध्यक्ष नारायण ढकालले स्थानीय तहले वातावरण स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए।

स्वास्थ्य कार्यालय रूपन्देहीका नसर्ने रोग फोकल पर्सन खिमलाल पाण्डेले जिल्लामा हालसम्म करिब १ लाख ७ हजारजनाको स्क्रिनिङ सम्पन्न भएको र थप १ लाख १३ हजारजनाको परीक्षण गर्ने लक्ष्य रहेको जानकारी दिए।
 

सुझावित समाचार